'पूर्णबहादुरको सारंगी' बन्यो 'वर्षसिनेमा २०८१', बुबाछोराको सम्बन्धमा दर्शकलाई डुबाउने फिल्म

Jasus Khabar 3945+ समाचार ( )
११ वैशाख २०८२

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ‘शिलापत्र वर्षसिनेमा २०८१’ चयन भएको छ । विधाविज्ञको रायमा तयार गरिएको १० सिनेमाको सूचीबाट ‘पूर्णबहादुरको सारंगी’ वर्षसिनेमा छनोट भएको हो । वर्षान्त अभियानअन्तर्गत शिलापत्रले २०७७ सालदेखि अनलाइन सर्वेक्षणमार्फत विभिन्न विधाका शीर्ष पात्र र सिर्जना घोषणा गर्दै आएको छ ।

‘पूर्णबहादुरको सारंगी’लाई वर्षसिनेमा २०८१ बनाउन कुल १५ हजार ७२ मतको ३२ दशमलव ५ प्रतिशतले मत दिए । गत वर्षका सर्वाधिक सफल चलचित्रमध्ये पूर्णबहादुरको सारंगी अग्रपंक्तिमा छ । विधाविज्ञको रायमा तयार गरिएको १० फिल्मको सूचीबाट एक वर्षसिनेमा र बाँकी ४ उत्कृष्ट सिनेमा घोषित गरिएका छन् । मनोनयन, छनोट प्रक्रिया र नतिजाको विस्तृत विवरण शिलापत्रले सार्वजनिक गर्नेछ । 

दर्शक रुवाएको फिल्म

वर्ष २०८१ मा ६२ वटा फिल्म रिलिज हुँदा आर्थिक कारोबारको हिस्सा करिब २ अर्ब पुगेको छ । यसमा रेकर्ड ब्रेकर फिल्म 'पूर्णबहादुरको सारंगी'ले नेपालको बक्स अफिसमा मात्र ४६ करोड ८० लाखको व्यापार गर्न सफल बन्यो । फिल्मलाई १७ लाख दर्शकले हेरेको तथ्यांक छ । यो रजतपट इतिहासमा रेकर्ड ब्रेक हो । फिल्मले विश्वबजारबाट ७५ करोडभन्दा बढी कमाएको आँकडा छ । 

फिल्मलाई व्यापारमा मात्र होइन, समीक्षात्मक हिसाबमा पनि रुचाइयो । फिल्मको मुख्य भार विजय बराललाई सुम्पिएको थियो । उनले आफ्नो भूमिकामा न्याय गरिदिए । यस फिल्मले लिड रोलम चल्तीका अनुहार र गठिलो शरीर अनि चक्लेटी लुक्स चाहिँदैन भन्ने देखायो । कला र अभिनय भएका कलाकारले नै फिल्मको भार उठाउन सक्छ भन्ने प्रमाणित पनि यस फिल्मले गरेको छ । फिल्मले आफ्नै कथा भन्दा दर्शकलाई फिल्मले छुन्छ भन्ने स्थापित ट्रेन्डलाई नयाँ उचाइमा पुर्‍याएर सेट गरेको छ । 

फिल्ममा विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बाँस्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् । 

फिल्मले बुबा र सन्तानको सम्बन्धलाई २०३६ देखि २०६५ सालसम्मको सामाजिक र राजनीतिक परिवेशलाई पर्दामा देखाएको छ । बाबुबाट पाएको सारंगीलाई नै पुर्खाको सम्पत्ति मान्ने र गन्धर्व परिवारमा जन्म भएपछि सारंगी रेट्दै गीत गाएर गुजारा गर्ने काम नै जीवन हो भन्ने सोच्ने पात्रको रूपमा पूर्णबहादुरलाई उभ्याइएको छ । 

सारंगी रेटेर गीत गाउँदै अरुले जे दिन्छन्, त्यसैबाट जीविकोपार्जनमा रमाइरहेका पूर्णबहादुर प्रारम्भमा छोरालाई पनि पुर्खाकै सीप सिकाउने काममा तल्लीन हुन्छन् । शिक्षासँग सामाजिक सम्मान जोडिएको हुन्छ भन्ने बुझ्नुअघि पूर्णबहादुरलाई छोरा कमलले गरेको ‘बा तिमिलाई सबैले किन हेप्छन् ?’ भन्ने प्रश्न मनमा गढेको हुन्छ । उनी छोरालाई डाक्टर बनाउन चाहन्छन् र छोराले डाक्टर भएर बाबुलाई सामाजिक सम्मान दिलाउन चाहन्छन् । 

माया, प्रेम र विछोड फिल्मका सामान्य आधारभूत तत्त्व हुन् । यी कुरा हुने नै भइहाले । नकारात्मक चरित्रको रूपमा समाजको शोषक छन् । तीन साथीको मित्रता इर्ष्यामा परिणत हुन्छ । राजनीतिक परिवेशलाई पनि कथामा बुनिएको छ । तर, बाबुले सन्तानका प्रगतिका लागि गरेको संघर्षबाट बाटो बिराएको छैन । बाबुछोराको सम्बन्धलाई सँगै अघि बढाएको छ । परम्परागत पेसामा रहेका पात्रमार्फत सीपअनुसारको कर्मसँगै जोडिएको आर्थिक दुरावस्था र त्यसले ल्याउने पारिवारिक विचलनलाई पर्दामा देखाउन निर्देशक सफल भएका छन् ।

हेपिएका दबाइएका समुदायको कथा हाम्रो नेपाली समाजको कथा हो 'पूर्णबहादुरको सारंगी' । पैसा नहुने वर्गको कथालाई कमर्सियल ढंगमा बेच्न फिल्म सफल छ । संगीतले कथालाई बुझाउन सक्ने थियो । सारंगीको कथा भए पनि सारंगी वादकको धुन भने छैन । 

शिक्षाका लागि अघिल्लो पुस्ताले गर्ने संघर्ष, दर्शकलो आफूलाई कथामा भेटाउने र नोस्टाल्जियामा रमाउने अवस्था र कलाकारको जीवन्त अभिनयका कारणले फिल्म चलेको हो । 

तितामीठा सम्झनालाई मानिसले भुल्न सक्दैनन् । ‘गाउँ छोडेर शहर आइरहेका छन् तर यादहरू आफूसँगै लिएर आएका छन् । फिल्मले नोस्टाल्जिया रिभोग गर्छ । जुन गाउँको सेटिङ, कपडा मैलाले बाँचेर आएको समयलाई सेटिङमा समेटेको छ । मानिसहरू सम्झनामा बाँच्न रमाउँछ,’ फिल्म समीक्षक सामीप्यराज तिमल्सेनाले शिलापत्रसँग भने । कहीँ न कहीँ आफूलाई कथामा पाउने नोस्टाल्जियामा दर्शक रमाए ।  

नेपाली समाजको संघर्षको इतिहासलाई भन्दा अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको शिक्षाका लागि जुन स्तरमा संघर्ष गर्ने गर्छन्, त्यसलाई कथामा भनेको छ । ‘संघर्षको कथामा कहीँ न कहीँ दर्शकले आफूलाई पाउँछन् । हाम्रो समाज मध्यम वर्गीय समाज हो । संघर्ष गरेर एक तह माथि आइरहेको हो । हामीभन्दा अगाडिको सारा जीवन सन्तानलाई शिक्षित बनाउन जीवन खर्चेको छ,’ तिमल्सेनाले भने । फिल्म हेर्दा दर्शकले कहीँ न कहीँ आफूलाई पाउने वा नपाएमा पनि देखेका घटनालाई स्मरण गर्ने अवस्था थियो ।

प्रतिक्रिया