धरानका सबै प्रहरी चौकीमा प्रहरी फर्किए

Jasus Khabar 3958+ समाचार ( )
८ अशोज २०८२

 जेनजी आन्दोलनका कारण विस्थापित भएका सुनसरीको  धरान उपमहानगरपालिकाका सबै प्रहरी चौकीमा प्रहरी पुनः फर्किएका छन्। आन्दोलनको त्रासका कारण भदौ २४ गतेदेखि इलाका प्रहरी कार्यालय धरानमा सीमित भई बसिरहेका प्रहरीहरूलाई  चौकीमा फर्काएर नियमित गस्ती र पेट्रोलिङ सुरु गरिएको छ।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खडकाका अनुसार दशैं–तिहार जस्ता चाडपर्वमा हुन सक्ने अपराध नियन्त्रणका लागि प्रहरीको उपस्थिति बढाइएको हो। उनले भने, “प्रहरी चौकी पुनः सञ्चालनमा आएपछि गस्ती, पेट्रोलिङ र नियमित निगरानी सुरु भएको छ, जसले अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।”

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले पनि जनताको ज्यान–मालको सुरक्षा प्रमुख प्राथमिकता भएको बताए। उनका अनुसार धरानका २, ४, ५, ६, ८, १३, १४, १५, १६, १७ र २० वडामा रहेका सबै चौकीहरूमा प्रहरी तैनाथ गरिएको छ।

सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाले प्रहरी चौकी पुनः सञ्चालनमा आएकोमा व्यवसायी समुदायले राहत महसुस गरेको बताए। उनले भने, “व्यवसाय सुरक्षित हुनु अर्थतन्त्रको मेरुदण्ड हो। प्रहरी उपस्थिति बढेपछि उद्योग, व्यापार र लगानीमैत्री वातावरण बलियो हुन्छ भन्ने हाम्रो विश्वास छ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा पनि ट्राफिक प्रहरी फर्किएर दैनिक ड्युटी सुरु गरेको प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाले जानकारी दिए । प्रहरी चौकी सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र व्यापारीहरू  आश्वस्त र खुसी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार