विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियानले रडाको

Jasus Khabar 3925+ समाचार ( )
९ अशोज २०८२

 कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ। जेन–जी आन्दोलनले उठाएको परिवर्तनका माग सम्बोधन गरेर पार्टीको नीति र नेतृत्व तत्काल परिवर्तन गर्नुपर्ने भन्दै इतर पक्षले हस्ताक्षर अभियान थालेको हो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला पक्षधर महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानलाई तीव्रता दिएका हुन्। हस्ताक्षर अभियन्ता एवं कांग्रेस नेता गुरु घिमिरेले हालको संकटलाई समाधान गर्न पार्टीको विशेष महाधिवेशन आवश्यक भएको बताए। 

‘कांग्रेसको स्थापनाकालदेखिनै पार्टीसामु धेरै संकट उत्पन्न भए,’ घिमिरले भने,‘ सबै संकट र चुनौतीहरूसँग मुकाबिला गर्‍यौं। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौं। तसर्थ, यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’

पार्टीका सहमहामन्त्री जीवन परियार पनि जेन–जीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा पार्टीले लिएका नीति,निर्णय र कामकारबाही जिम्मेवार भएको ठहर गर्छन्। केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने अवस्था कमजोर हुँदै गएपछि विशेष महाधिवेशनको माग गर्नुपर्छ भन्ने प्रस्ताव आफैंले राखेको भन्दै उनले अगाडि भने, ‘इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौं।’

परियारले विगतका गल्तीहरूप्रति माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम नभएको बताए। घिमिरेले भने, ‘नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरू निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महसुस गरी हामी महाधिवेशन प्रतिनिधिहरू नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछौं।’

तर, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले विशेष महाधिवेशनको विषय निकालेर पार्टी भाड्ने काम मात्र गर्ने प्रयास गरिएको बताए। सिटौलाले भने, ‘यो समय नियमित महाधिवेशनको तयारी गर्ने समय हो। यसको जिम्मेवारी खाली पार्टी सभापतिको मात्र हैन। उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूको पनि हो। क्रियाशील सदस्यता टुंगाउने काम पनि महामन्त्रीहरूकै हो। महाधिवेशनको तयारी उहाँहरूले अहिलेसम्म के के गर्नुभएको छ ? विशेष गरेर पार्टीलाई मजाक बनाउने ? पार्टी उहाँहरूको मात्र हो ? उहाँहरूकै चल्ने ? पार्टीमा लामोसमय संघर्ष गरेका आएका योद्याहरू छन् जसले गर्दा पार्टी आजसम्म जोगिएको छ। त्यसैले यो विशेष र हस्ताक्षर भनेको बकबास विषय हुन्।’

कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा शुभेच्छुक संघसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ। पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ। घिमिरेले भने, ‘सबै महाधिवेशन प्रतिनिधिहरूले फारम भर्न पाउनुहुन्छ। फारम १, २ दिनमा जिल्लाभरि पठाउने तयारी छ। सकेसम्म दसैंअघि नत्र दसैंपछि लगत्तै फारम केन्द्रमा आइपुग्छ। यो जनताले चाहेको म्यान्डेट हो।’ हस्ताक्षर अभियानमा शेखर कोइराला समूहका गुरुराज घिमिरे, देवराज चालिसेसहितका नेताहरू छन्।

हस्ताक्षर संकलनले पार्टी भाड्ने काम हुँदैछ : सुदूरपश्चिम कांग्रेस
कांग्रेस, सुदूरपश्चिम प्रदेशले विशेष महाधिवेशनका नाममा हस्ताक्षर संकलन गरेर नेता कार्यकर्तालाई भ्रममा नपार्न सुझाव दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आउँदा महाधिवेशनमा सभापतिको उम्मेदवार नलड्ने र नेतृत्व हस्तान्तरण गर्न तयार भइसकेको अवस्थामा यस्ता विषयमा नेता कार्यकर्ताले मनन गर्नुपर्ने सुदूरपश्चिमका कांग्रेस नेताहरूको भनाइ छ।

पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोरमात्र होइन, लोकतन्त्र नै समाप्त हुने खतरा हुन्छ,ु सुदूरपश्चिम कांग्रेसले निष्कर्ष निकाल्दै भनेको छ।

सुदूर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै ठीक नभइसकेकाले यस्तो अवस्थामा हस्ताक्षर र विशेष अभियानको म्यान्डेट ल्याएर पार्टी फोड्ने काम गरेको भन्दै अगाडि भने, ‘सभापति देउवा उपचारका क्रममा रहेकाले पदाधिकारीहरूले सुझबुझका साथ पार्टी एकता कायम गरी निर्णय लिनुपर्ने बेला हो। अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न तथा जनतामा शान्ति र सद्‍भाव कायम गर्न आवश्यक छ। कांग्रेसलाई जनतासँग निरन्तर जोड्न र पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अहिलेको परिस्थितिबाट मुलुकलाई निकास दिनुपर्छ।’

त्यस्तै, सुदूरपश्चिम कांग्रेसले सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको आकलन गरी आवश्यक पुनर्निर्माणको कार्य अगाडि बढाउन र तोडफोड र आगजानीमा संलग्नलाई कारबाही गर्न आग्रह गरेको छ।

बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कावा सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी भएका थिए।

प्रतिक्रिया