पत्रकारमाथि सार्वजनिक अपमान र धम्कीको आरोप, कार्वाहीको माग

Jasus Khabar 3925+ समाचार ( )
२५ पौष २०८२

सुनसरी । हरिनगर गाउँपालिकामा आयोजित ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पत्रकार नसिम अन्सारीमाथि सार्वजनिक रूपमा अपमान, धम्की र चरित्र हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखालाई छानबिन तथा दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरिएको छ।


शुक्रबार हरिनगर गाउँपालिकाका वडा नं. १, ३ र ७ का वडाअध्यक्ष क्रमश: प्रवीण गुप्ता, अरबिन्द मेहता र मोजम्मील खानले विभिन्न मागसहित गाउँपालिका अध्यक्ष गफार अन्सारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। सोही अवसरमा सञ्चारकर्मीहरूसँग अध्यक्ष अन्सारीले सबै प्रश्नको जवाफ दिएपछि पत्रकार ब्रहमदेव मेहताले अध्यक्षमाथि पूर्वाग्रही ढंगले प्रश्न गर्दै पत्रकारको मर्यादा विपरीत गुण्डागर्दी शैलीमा टिप्पणी गर्न थालेको आरोप लगाइएको छ।


घटनास्थलमा उपस्थित एक जिम्मेवार पत्रकार तथा नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य नसिम अन्सारीले विषयवस्तुमा केन्द्रित भएर प्रश्न गर्न आग्रह गर्दा पत्रकार मेहताले “तिमी को होस्” भन्दै धम्की र गालीगलौज गरेको पीडित पत्रकारको भनाइ छ। यस क्रममा सार्वजनिक स्थानमै सबैको अगाडि आफ्नो मानमर्दन गरिएको उनले बताएका छन्।


त्यसपछि केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो चरित्र हत्या गरिएको भन्दै पीडित पत्रकारले गम्भीर आपत्ति जनाएका छन्। उक्त घटनाले पत्रकारिता पेशाको मर्यादा, स्वतन्त्रता र सम्मानमाथि ठेस पुगेको उनको ठहर छ।


पीडित पत्रकारले नेपाल पत्रकार महासंघ सुनसरी शाखालाई ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न हार्दिक अनुरोध गरेका छन्।


उनले यस्ता घटनाले पत्रकारबीचको एकता कमजोर पार्ने र आम नागरिकमा पत्रकारिताप्रति नकारात्मक सन्देश जाने भन्दै महासंघले गम्भीरतापूर्वक पहल लिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

Yyyyyy २५ पौष २०८२, शुक्रबार

👍👍👍👍👍👍