ध्वनि प्रदूषणबारे सचेत गराउँदै प्रहरीले भने– अनावश्यक खोक्ने खकार्ने नगरौँ, फोनको सट्टा म्यामेसमा संवाद गरौँ

Jasus Khabar 3925+ समाचार ( )
१९ भाद्र २०८२

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनी, धुँवा र फोहोर प्रदूषण नियन्त्रण गर्न ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको छ ।

प्रहरीका अनुसार ध्वनी प्रदूषणले विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर गर्ने देखिएको छ । साथै यसले सामाजिक, आर्थिक गतिविधि, नैतिक मूल्य र आपसी सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नागरिकलाई सचेत बनाउन अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राति अनावश्यक हल्ला नगर्न, ठूलो स्वरमा कुरा वा संगीत नबजाउन, पार्टी, जमघट, टेलिभिजन वा भान्सामा आवाज कम गर्न, बिहान सबेरै सवारीसाधनको ठूलो आवाज नगर्न र शौचालय वा प्रेसर कुकरजस्ता क्रियाकलापमा सचेत रहन, धार्मिक तथा सामाजिक कार्यक्रममा ध्वनी नियन्त्रण गर्न, छिमेकमा फोहर, धुवाँ वा जनावरजन्य अशान्ति नफैलाउन अनुरोध गरेको छ ।

प्रहरीले ध्वनी प्रदूषण नियन्त्रण गर्न कानुनी व्यवस्था पनि कडा रहेको उल्लेख गर्दै त्यस्तो गतिविधि गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयले छिमेकमा अशान्ति देखिएमा नागरिकले तत्कालै प्रहरी कन्ट्रोल (१००), ट्राफिक कन्ट्रोल (१०३) वा रानीपोखरी प्रहरी कार्यालयका सम्पर्क नम्बर ९८५१२८३०२६, ९८५१२८३०२७ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ । 


प्रतिक्रिया