देवानगञ्जमा ५९ केजी गाँजा सहित मोटरसाइकल बरामद

Jasus Khabar 3925+ समाचार ( )
२ भाद्र २०८२

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–६ बुढी खोला पुल नजिकै सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । आइतबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेबगञ्जबाट खटिएको टोलीले चेकप्वाइन्टमा रोक्न खोज्दा मोटरसाइकल दुर्घटना भई उक्त गाँजा फेला परेको हो ।


सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले बिराटनगरतर्फबाट आउँदै गरेको नम्बर प्लेट विहीन कालो–निलो रंगको २२० सिसी पल्सर मोटरसाइकललाई जाँच गर्ने क्रममा रोकेपछि चालकले नियन्त्रण गुमाउँदै सडक छेउको नालामा पल्टाएका थिए । त्यसपछि चालक र पछाडि सवार व्यक्ति अन्धकारको अवसर छोपेर फरार भएको प्रहरीले जनाएको छ ।


घटनास्थलमै गरिएको तलासीमा मोटरसाइकलभित्र ५९ प्याकेटमा प्याक गरिएको झन्डै ५९ केजी लागुऔषध गाँजा बरामद गरिएको हो । बरामद मोटरसाइकल (इञ्जिन नं. DKXCRG48130, च्यासिस नं. M02A13EX4RCG7760) र लागुऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालयले जनाएको छ ।


यस घटनाले सीमावर्ती भेग हुँदै लागुऔषधको ओसारपसार अझै सक्रिय रहेको स्पष्ट पारेको छ । प्रहरीले फरार रहेका व्यक्तिहरुको खोजी कार्य तीव्र पारेको र आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार