सुनसरीमा आत्महत्याका घटना: २१६ जनाको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
२८ आषाढ २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीमा पछिल्लो समय आत्महत्याका घटना बढ्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि ०८२ जेष्ठ मसान्तसम्मको अवधिमा मात्रै जिल्लाभित्र २ सय १६ जनाले आत्महत्या गरेका छन् ।


प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेहरूमा सबैभन्दा धेरै झुन्डिएर मृत्यु गर्नेको संख्या रहेको छ । २ सय १६ जनामध्ये १ सय ७८ जनाले झुन्डिएर, ३५ जनाले विष सेवन गरेर, २ जनाले शरीरमा आगो लगाएर र १ जनाले हातहतियार तथा औजारको प्रयोग गरी आत्महत्या गरेका हुन् ।


झुन्डिएर आत्महत्या गर्ने १ सय ७८ जनामध्ये १ सय ८ जना पुरुष, ४९ जना महिला, ११ जना बालक र १० जना बालिका रहेका छन् । त्यस्तै विष सेवन गरेर आत्महत्या गर्ने ३५ जनामध्ये १८ जना पुरुष, १४ जना महिला, २ जना बालक र २ जना बालिका रहेका छन् । यसैगरी, आगो लगाई आत्महत्या गर्नेमा २ जना महिला रहेका छन् भने हातहतियार औजारको प्रयोग गरी १ जना पुरुषले आत्महत्या गरेका छन् ।


प्रहरीका अनुसार आत्महत्या गर्ने घटनामा पुरुषको संख्या महिलाको तुलनामा उल्लेख्य रुपमा बढी देखिएको छ । विशेष गरी झुन्डिएर आत्महत्या गर्ने प्रवृत्ति बालबालिका र युवाहरूमा समेत देखिनु चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।


आत्महत्याका कारणहरू बहुपक्षीय


प्रहरी कार्यालयले आत्महत्याका कारणहरू विविध रहेको जनाएको छ । गरिबी, बेरोजगारी, प्रेम सम्बन्धमा विफलता, पारिवारिक झगडा, मानसिक तनाव, सामाजिक दबाब, शैक्षिक ज्ञानको अभाव, आन्तरिक कलह र मानसिक रोगजस्ता कारणले यस्ता घटनाहरू भइरहेका प्रहरीको भनाइ छ ।


एसपी तिम्सिनाका अनुसार पछिल्लो समय मानसिक स्वास्थ्य समस्या, पारिवारिक असहिष्णुता र सामाजिक सहकार्यको कमीले गर्दा आत्महत्याका घटनामा वृद्धि भएको हो । “समाजमा रहेका मानसिक दबाब, निराशा, पारिवारिक विवाद, प्रेम सम्बन्धको असफलता र आर्थिक समस्या यस्ता घटनाका प्रमुख कारण हुन्,” उहाँले भन्नुभयो ।


बालबालिकामा समेत आत्महत्याको बढ्दो घटना चिन्ताजनक


सुनसरीमा आत्महत्या गर्नेहरूमध्ये बालबालिकाको संख्या समेत उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । ११ जना बालक र १० जना बालिकाले झुन्डिएर तथा २/२ जना बालक र बालिकाले विष सेवन गरेर ज्यान गुमाएको सुनसरी प्रहरीको तथ्याङ्क छ ।


प्रहरीले बालबालिकाको आत्महत्या न्यूनीकरणका लागि विद्यालयस्तरीय काउन्सिलिङ, बाल संरक्षण केन्द्रहरूको सशक्तिकरण, अभिभावक सचेतना र बालमैत्री समाज निर्माण आवश्यक रहेको बताएको छ ।


न्यूनीकरणका लागि प्रहरीको पहल


जिल्ला प्रहरी कार्यालय सुनसरीले आत्महत्याका घटनामा कमी ल्याउन ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।


एसपी तिम्सिनाले भन्नुभयो, “यस्ता दु:खद घटनालाई न्यूनीकरण गर्नका लागि सामाजिक, पारिवारिक र सरकारी संयन्त्रहरूबीच समन्वय र सहकार्य अपरिहार्य छ ।” वहाँले थप्नु भयो," मानसिक स्वास्थ्य, पारिवारिक सहकार्य, युवाहरूमा सकारात्मक सोच र समावेशी समाज निर्माण गर्न सक्ने कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ," वहाँले भन्नुभयो । 

प्रतिक्रिया