विद्युतमा लापरबाही: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Jasus Khabar 3958+ समाचार ( )
८ श्रावण २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा विद्युत सेवा नियमित नभएको र मर्मतका लागि सम्बन्धित प्राविधिक समयमै नआएको भन्दै स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।


विद्युत आपूर्तिमा बारम्बार हुने अवरोध, मर्मतसम्भारमा देखिएको लापरवाही तथा जिम्मेवार निकायका कर्मचारीहरूको गैरजिम्मेवार व्यवहारप्रति आक्रोशित स्थानीयले भोक्राहा नरसिंह गाउँपालिका-४ चिराैली चाैक स्थित बिहिवार बिहानदेखि सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।


आक्रोशित स्थानीयवासीले पटक–पटक विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको जनाउँदै सम्बन्धित निकायलाई समयमै ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिएको आरोप लगाएका छन् ।


‘केही घण्टा मात्रै हैन, दिनभरि घण्टौंसम्म बत्ति जान्छ, फोन गर्दा प्राविधिक आउँदैनन्,’ स्थानीय बासिन्दा समसाद अन्सारीले भने, ‘हामीले समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्नेछौं।’


राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम यात्रामा रहेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । सुरक्षा व्यवस्था कायम गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


स्थानीय प्रशासन र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग समस्या समाधानका लागि छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया