अष्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने १५ लाख मानिस जोखिममा

Jasus Khabar 3958+ समाचार ( )
३० भाद्र २०८२

 अष्ट्रेलियाको जलवायु प्रतिवेदनले समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा तटीय क्षेत्रमा बसोबास गर्ने करिब १५ लाख मानिस जोखिममा पर्ने बताएको छ।

अष्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आगामी वर्षमा बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र झाडी डढेलो जस्ता जलवायुसँग सम्बन्धित प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको छ।

जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने, ʻअस्ट्रेलियालीहरूले पहिले नै जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेका छन्। तर हामी अहिले जति धेरै तापक्रम वृद्धि रोक्न सक्छौँ , भावी पुस्ताका लागि संकट त्यति नै कम गम्भीर हुनेछ।ʼ 

प्रतिवेदनमा अष्ट्रेलिया पहिले नै विश्वव्यापी तापक्रम वृद्धिको हिसाबले १.५ डिग्रीभन्दा माथि पुगिसकेको छ। तापक्रम ३ डिग्रीसम्म बढ्यो भने सिड्नीमा गर्मीको लहरबाट हुने मृत्यु ४०० प्रतिशतले बढ्न सक्ने र मेलबर्नमा यो करिब तीन गुणा बढ्न सक्ने जनाएको छ।

प्रतिवेदनले अष्ट्रेलियाको कुनै पनि समुदाय जलवायु परिवर्तनको जोखिमबाट अछुतो नहुने पनि बताएको छ। यसले गर्मीको लहरले मृत्युदर बढाउने, बाढी र आगलागीले पानीको गुणस्तर बिगार्ने र सम्पत्तिको मूल्य घट्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया