भारतद्वारा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ ठाउँमा हवाइ हमला

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

नयाँ दिल्ली : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ।

पहलगाम आक्रमणको १५ दिन पछि उक्त हवाई हमला गरेको हो। बुधबार राति करिब १.३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ।

भारत सरकारले केही समयअघि एक विज्ञप्ति जारी गर्दै सेनाले "अपरेशन सिन्दूर" सुरु गरेको बताएको छ।

भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।'


विज्ञप्तिमा कुल नौ स्थानहरूलाई लक्षित गरिएको पनि उल्लेख छ।


पाकिस्तानको सरकारी टेलिभिजनले भने सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ। आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानको दाबी 


पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएको छ।


पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्।


शाहबाज शरीफले भने, 'पाकिस्तानलाई यो बिना उक्साहटको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र आफ्नो सेनाको समर्थनमा छ। हाम्रो मनोबल र संकल्प अटल छ। हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ।'

शाहबाज शरीफले पाकिस्तानका जनता र यहाँका सेना कुनै पनि खतराको सामना गर्न पूर्ण रूपमा तयार भएको पनि जनाएका छन्। 

प्रतिक्रिया