अजमल अन्सारी
>
सुनसरी। शान्तिपूर्ण तथा सुरक्षित समाज निर्माणका लागि "समुदाय–प्रहरी साझेदारी" कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले आज हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।>
शिविरमा वरिष्ठ डाक्टर किशोर कुमार पौडेलले थुनुवाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै भिडियो एक्सरे मेसिनद्वारा चेकजाँच गरी विभिन्न समस्या पहिचान गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा केही थुनुवामा सामान्य रोगको लक्षण देखिएको र आवश्यक सल्लाह, औषधि तथा थप उपचारका लागि आग्रह गरेको डा. पौडेलले जानकारी दिनुभयो ।>
कार्यक्रम जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको विशेष पहलमा सम्पन्न भएको हो । प्रमुख तिम्सिनाले शिविरमा बोल्दै थुनुवा मात्र नभई हिरासतमा रहेका सबै व्यक्तिको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले मानव अधिकार संरक्षणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।>
समाजमा शान्ति सुरक्षासँगै हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य समेत प्रहरीको जिम्मेवारी हो भन्ने भावनाका साथ स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख तिम्सिनाले बताउनुभयो ।>
शिविरमा हिरासतमा रहेका करिब ५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । कार्यक्रमलाई निरन्तरता दिने तयारी रहेको समेत जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । >
>
>
>>