एयरलाइन्स र ट्राभल एजेन्सीको अनुसन्धान गर्दै सीआईबी

Jasus Khabar 3945+ समाचार ( )
२० भाद्र २०८२

 भिजिट भिसाका नाममा विदेश जाने यात्रुहरूलाई विभिन्न बहानामा ठगी गरेको भन्दै केही ट्राभल एजेन्सी र एयरलाइन्समाथि अनुसन्धान सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’का प्रवक्ता युवराज खड्काका अनुसार अध्यागमन विभागको पत्रअनुसार शंकास्पद कार्य गर्ने केही ट्राभल एजेन्सी र एयरलाइन्सविरुद्ध अनुसन्धान सुरु गरिएको हो। 

उनी भन्छन्, ‘विदेश जाने यात्रुहरूलाई कहिले एयरलाइन्सले त कहिले कागजात पुगेन भन्दै ट्राभल एजेन्सीले नै फर्काउने गरेका घटना प्रहरीले पनि सुन्दै आएको थियो। यस विषयमा प्रहरीले सूक्ष्म रूपमा निगरानी गरिरहेको छ। शंकास्पद कम्पनीमाथि अनुसन्धान गरिरहेको छ।’, सीआईबी प्रवक्ता खड्का अगाडि भन्छन्, ‘यसरी ठगी गर्ने गरेका शंकास्पद एयरलाइन्स र केही ट्राभल एजेन्सीलाई सीआइबीले पत्राचार गरेको छ। सम्पूर्ण डिटेल्स र आर्थिक विवरणसमेत मागेर सीआईबीले पत्राचार गरेको हो। उनीहरूको जवाफ आएपछि मात्रै थप अनुसन्धान अगाडि बढ्नेछ।’

कागजात पुगेका र सक्कली भिसा भएको यात्रुलाई दुःख दिने र ठगी गर्ने नियतले एयरलाइन्सले पनि फर्काउने गरेको घटना पुरानै हो। ओभर बुकिङ गर्ने, नक्कली कागजात बनाइदिने र कृत्रिम समस्या देखाएर ठगी गरेको भन्दै गुनासो बढेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो।

ट्राभल एजेन्सीहरू, जम्मा रकमलगायतका विवरणसमेत माग गरिएको छ।

अध्यागमन विभागका प्रमुख रामचन्द्र तिवारीका अनुसार, भिजिट भिसा भन्नासाथ अध्यागमनका कर्मचारीले मात्रै ठगी गर्ने भन्ने गलत भाष्य निर्माण भएको छ। यात्रु फर्काउने काम अध्यागमनले मात्रै गर्दैन। नक्कली भिसा र कागजात नपुगेको अवस्थामा मात्रै अध्यागमन कार्यालयले फर्काउने गरेको छ। तर कृत्रिम अवस्था सिर्जना गरी बेलाबेला एयरलाइन्स र ट्राभल एजेन्सीले पनि फर्काउने गरेको छ।

यसको सोधीखोजी र अनुसन्धान कतै हुँदैन। हरेक दिन विमानस्थलबाट फर्कनेमध्ये ६०/४० को अवस्थामा अध्यागमन कार्यालय र एयरलाइन्सको हुन्छ। यात्रुहरूलाई दुःख दिने नियत राखेर बिचौलियालाई फाइदाका लागि यात्रुको स्तर हेरेर व्यक्ति फर्काउन मिल्दैन। यो सम्बन्धी प्रहरीले नै डिटेल अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ।

प्रतिक्रिया