कवि, गीतकार, निबन्धकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको वैचारिक निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खगेन्द्र सङ्ग्रौला, डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गरे ।>
सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार भूपाल राईका निम्बन्धमा भएको सङ्ग्रौलाले बताए । कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बाग्द्वार खडा गर्ने उनको भनाइ थियो ।>
भाषा आयोगका अध्यक्ष ठाकुरले राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए । ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकको निबन्धलाई गैरमधेशीबाट मधेशी समुदायमाथि भएको दमनको सङ्केतको रूपमा आफूले लिएको उनको भनाइ छ । भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थाको बिम्बको रूपमा पुस्तकको प्रशंसा गरे ।>
लेखक राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ रहेको छ ।>
>>