३० वर्षमा सुनको मूल्य औसत ६ गुणाले वृद्धि

Jasus Khabar 3925+ समाचार ( )
२४ अशोज २०८२

 अझै सुन चाँदीको खपत बढ्ने चाडपर्व नजिकिँदै गर्दा मूल्य झन् बढ्दै गएको छ। तिहारमा सुन तथा र चाँदीका असर्फी किन्नेदेखि गरगहना जोड्ने प्रचलन छ। यसपछि मंसिरदेखि विवाहको लगन सुरु हुन्छ, जतिबेला बढी सुनको खपत हुने गर्छ। तर यसको पूर्वसन्ध्यामा सुनले दैनिक रेकर्ड तोडिरहेको छ। 

नेपाली बजारमा बिहीबार (असोज २३ गते) मात्रै प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ। जबकी यसको अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। एक दिनको अन्तरमा सुनको मूल्य १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ।

यता सुनको मूल्यले रेकर्ड तोडेसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा छ। जसअनुसार बिहीबार एक तोला चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ पुगेको छ। यसअघिको दिन बुधबार २ हजार ९ सय ५५ रुपैयाँ थियो। नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय मूल्य घटेको बेलामा पनि भन्सार मूल्यवृद्धि र नेपाली मुद्राको अवमूल्यनको कारण नेपालमा भने भाउवृद्धि कायमै रहने गरेको बताउँछन्, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य। उनका अनुसार विगत २० वर्षको दौरानमा सुनको अन्तर्राष्ट्रिय मूल्य जति बढेको छ, नेपालमा त्यसको साढे दुई गुणा बढेको छ। ‘विगत १० वर्षको दौरान भने सुनको अन्तर्राष्ट्रिय मूल्यभन्दा नेपालको मूल्य दुई गुणाले बढेको छ। चाँदीको मूल्य पनि धेरै वर्षहरूमा सुनको मूल्यको समानान्तर नै थपघट भएको छ,’ शाक्य भने।

बहुआयामिक मागले सुनको मूल्यवृद्धि 
पछिल्ला महिनाहरूमा सुन–चाँदीको मूल्य निरन्तर बढ्नुका पछाडि विश्व अर्थतन्त्र र भू-राजनीतिक कारणहरूको संयोजन रहेको वरिष्ठ उपाध्यक्ष शाक्यको ठहर छ। उनका अनुसार अन्य धातुको तुलनामा सुनचाँदीको मूल्य बढ्नु यसको बहुआयामिक मागसँग सम्बन्धित छ। ‘आकर्षक रङ र चमकका कारण गहना निर्माणमा यसको ठूलो प्रयोग हुन्छ भने मोबाइल, कम्प्युटरदेखि हवाईजहाजसम्मका औद्योगिक उत्पादनमा पनि यसको प्रयोग बढ्दो छ। साथै विश्वका अधिकांश केन्द्रीय बैंकहरूको सञ्चितिमा सुनको हिस्सा उल्लेखनीय मात्रामा राखेका छन्। विश्वका केन्द्रीय बैंकहरूले हरेक वर्ष करिब एक हजार टन सुन खरिद गर्दै सञ्चिति बढाइरहेका छन्,’ उनले जनाए। 

रूस–युक्रेन र मध्यपूर्वका युद्ध, उत्तर कोरियाको मिसाइल परीक्षणजस्ता भूराजनीतिक तनावले सुरक्षित सम्पत्तिका रूपमा सुनको माग बढाएको उनको तर्क छ। ब्रिक्स देशहरूले डलरको निर्भरता घटाउने रणनीति अपनाएकाले डलर कमजोर बन्दै सुन बलियो बन्दै गएको उनले बताए। शाक्यले भने, ‘हालको अवस्थामा साना लगानीकर्ताका लागि सुनचाँदीमा ठूलो लगानी चुनौतीपूर्ण भए पनि दीर्घकालीन हिसाबमा यो अझै सुरक्षित र लाभदायक विकल्प हो।

सुन अझै बढ्ने अनुमान
सुनचाँदी सधैं सुरक्षित र दीर्घकालीन प्रतिफल दिने सम्पत्ति भएकाले पनि यसमा सधैं आकर्षण हुने उनको भनाइ छ। अबको केही महिनामा सुनको मूल्य प्रतिऔंस ४५ सय डलरसम्म र चाँदीको मूल्य ६० डलरसम्म पुग्ने सम्भावना देखिएको औंल्याउँदै उनले यस अनुरूप नेपाली बजारमा सुन प्रतितोला करिब २ लाख ६५ हजार रुपैयाँ र चाँदी ३६ सय रुपैयाँ पुग्ने अनुमान गरे।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कहिले कति पुग्यो ?       
यूएसए गोल्डका अनुसार सन् १९९५ मा सुनको औसत मूल्य प्रतिऔंस ३ सय ८७ डलर थियो। त्यसपछि केही वर्ष लगातार घट्दै २००१ मा २७१.०४ डलरमा झर्‍यो। यो ५–६ वर्षको अन्तरमा सुनको मूल्य करिब ३० प्रतिशत कमी रह्यो। यसपछि सन् २००२ पछि सुनको मूल्य निरन्तर वृद्धि हुँदै २०११ सम्मको अवधिमा प्रतिऔंस १,५७२.३५ डलर पुग्यो। यो इतिहासकै उच्च वृद्धिदर  मध्ये एक थियो। यसपछि सन् २०१३ देखि २०१५ सम्म पुनः घट्ने क्रममा सुनको मूल्य प्रतिऔंस १,१६० डलरसम्म घट्यो। 

तर, सन् २०१६ पछि सुन पुनः स्थिर रूपमा बढ्दै सन् २०२० मा विश्वव्यापी महामारी र आर्थिक अनिश्चितताका कारण प्रति औंस १,७७१.९६ डलर पुग्यो। यसपछि सन् २०२४ मा सुनको मूल्य प्रतिऔंस २,४०८.०८ डलर पुगेको छ। यो सन् २०२३ को तुलनामा २३.९ प्रतिशत बढी हो। यसरी ३० वर्षको अवधिमा सुनको औसत मूल्य करिब ६ गुणा बढेको देखिन्छ। यता चाँदीको मूल्य सन् १९९५ मा प्रतिऔंस ५.२०डलर थियो। १९९७–२००१ बीच घट्दै प्रतिऔंस ४.३७ डलर सम्म पुगेको देखिन्छ। २००४ देखि तीव्र वृद्धि सुरु भई २०११ मा चाँदीको मूल्य प्रतिऔंस ३५.१२ डलर पुग्यो, जुन इतिहासकै उच्च दर हो। २०१२ देखि २०१५ सम्म पुनः तीव्र गिरावट भएर प्रतिऔंस १५.६८ डलरमा झर्‍यो (लगभग ५० प्रतिशत घट्यो)। 

तर, २०२० मा महामारीपछि चाँदीको मूल्य पुनः बढ्दै २०२१ मा प्रतिऔंस २५.१४ डलर, र २०२४ मा प्रतिऔंस २८.८७ डलर पुगेको छ। सन् १९९५ देखि २०२४ सम्म सुन र चाँदी दुवैको मूल्यले दीर्घकालीन उकालो लिएको देखिन्छ। सुनको मूल्य करिब ६ गुणा बढ्दा र चाँदीको मूल्य करिब ५ गुणा बढेको छ। मूल्यवृद्धिको प्रमुख चरणहरू सन् २००६–२०११ र सन् २०२०–२०२४ मा केन्द्रित छन्, जसमा विश्व आर्थिक अनिश्चितता र सुरक्षित सम्पत्तिप्रतिको आकर्षण मुख्य कारण रहेको वरिष्ठ उपाध्यक्ष  शाक्यले औंल्याए।

सुन आयातमा उल्लेखनीय वृद्धि

सुनको मूल्य बढेसँगै पछिल्लो समय सुनको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ। तर सुनको आयातको तुलनामा सुनबाट बनेका ज्वेलरीहरूको निर्यातमा भने गिरावट देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा ३४ अर्ब २६ लाख ४८ हजार २ सय रुपैयाँबराबरको सुन आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११४.६९ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको सुन आयात १ अर्ब ५९ करोड ६० लाख ४३ हजार रुपैयाँ रहेको थियो। जबकि आर्थिक वर्ष २०८१/८२ भर १९ अर्ब ९४ करोड ५७ लाख ४६ हजार रुपैयाँ आयात भएको थियो। 

कुल आयातमा सुनको हिस्सा १.१ प्रतिशत रहेको छ। तर यता सुनजन्य निर्मित वस्तुको निर्यातमा भने गिरावट आएको छ। चालु वर्षको भदौसम्ममा सुन निर्यात ६६ लाख ८६ हजार रुपैयाँमात्रै भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो।


प्रतिक्रिया