पर्साबाट एपीएफले बरामद गर्‍यो साढे ५८ लाखको हिरा र सुनको गरगहना

Jasus Khabar 3925+ समाचार ( )
२६ फाल्गुन २०८१

पर्साबाट सशस्त्र प्रहरीले करीब ५८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ बराबरको हिरा र सुनको गरगहना बरामद गरेको छ।

विरगंज महानगरपालिका-१६ स्थित सीमा ईलाकाबाट शनिबार राति सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजले सो गरगहना बरामद गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद बस्तु फेला परेको थियो। सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कार भगाएका थिए। सामान छाडेर कार र व्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सास्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो।


सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६.७३ ग्राम सुन रहेको प्रमाणित भएको छ। बरामद गहना आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए।

प्रतिक्रिया