युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि तयार भएका छन् । यसअघि पुटिनले राखेको वार्ता प्रस्तावमा सकारात्मक प्रतिक्रिया नदिएका जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि निर्णयमा पुनर्विचार गरेका हुन् ।>
पुटिनले १५ मे मा जेलेन्स्कीसँग सीधा वार्ता गर्न चाहेको बताएका थिए । त्यसका लागि उनले इस्तानबुलमा स्थान तय गरेका छन् । पुटिनको यो प्रस्ताव जेलेन्स्कीले सुरुमा अस्वीकार गरेका थिए । युक्रेनी राष्ट्रपतिले युद्धविराममा सहमति भएपछि मात्र पुटिसँगको वार्ताका लागि तयार हुने प्रतिक्रिया दिएका थिए ।>
तर, ट्रम्पले यो वार्ताका लागि तयार हुन जेलेन्स्कीलाई दबाब दिएका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पुटिनले गरेको प्रस्तावमा सहमत हुन युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आग्रह गरेका थिए । 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविराम गर्न होइन यो युद्ध समाप्त गर्नका लागि वार्ता गर्न चाहन्छन् । युक्रेन तुरुन्त यसमा सहमत हुनु आवश्यक छ,' ट्रम्पले भनेका थिए ।>
ट्रम्पको यस्तो प्रतिक्रियापछि जेलेन्स्की पुटिनसँगको वार्ताका लागि तयार भएका हुन् । उनले बिहीबार इस्तानबुलमा पुटिनसँगको वार्ताका लागि तयार रहेको बताएका छन्, ता कि युद्ध अन्त्य गर्न सकियोस् ।>
जेलेन्स्कीले एक्समा लेखेका छन्- अझै थप मानिसहरू मारिनुको कुनै अर्थ छैन । म स्वयं बिहीबार पुटिनलाई टर्कीमा पर्खनेछु । जेलेन्स्कीले यसअघि पनि आफू रुससँगको वार्ताका लागि तयार भएको बताएका छन् । तर, त्यसका लागि युद्धविराम हुनुपर्ने उनको सर्त छ ।>>