परीक्षाको नतिजा समयमै निकाल्छौँ: उपकुलपति थपलिया

Jasus Khabar 3959+ समाचार ( )
११ श्रावण २०८२

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति  प्रा .डा .विजुकुमार थपलियाले पूर्वाञ्चल विश्वविद्यालयले परीक्षाको नतिजा समयमै निकाल्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार विराटनगरमा आयोजित पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका नयाँ भर्ना भएका विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उपकुलपति थपलियाले परीक्षाको नतिजा समयमै निकाल्ने प्रतिबद्धता जनाएका हुन् ।

थपलियाले पूर्वाञ्चल विश्वविद्यालयले परीक्षाको नतिजामा ढिलाइ गर्ने गरेको गुनासो  धेरै आउने गरेको बताए । ‘परीक्षाको नतिजा ढिलो आउने गुनासो धेरै आउने गरेको छ’ उनले भने‘ त्यसलाई सुधार गरेर अब, तालिका अनुसार समयमै नतिजा निकाल्छौँ ।’ थपलियाले विगतमा भन्दा हाल धेरै सुधार भइसकेको पनि दाबी गरे ।

उनले भने ‘परीक्षाको नतिजाका विषयमा विगतमा भन्दा सुधार भए पनि त्यसलाई थप सुधार गरी तालिका अनुसारकै समयमा निकाल्छौँ ।’ थपलियाले पूर्वाञ्चल विश्वविद्यालयले भौतिक पूर्वाधार र अन्य शैक्षिक पूर्वाधारमा पनि सुधार गरिरहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयले  भौतिक र शैक्षिक पूर्वाधारमा सुधारको क्रम जारी रहेकाले शिक्षाको गुणस्तरमा पनि सुधार गर्दै  लगेको उनले स्पष्ट पारे ।

कार्यक्रममा विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन समितिका कार्यकारी निर्देशक उत्तमकुमार रेग्मी, इन्जिनियर संकायका निमित्त डिन हेमन्तकुमार गोहितले पढेका विषयलाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया