गौतम गम्भीर भन्छन्– भारतले पाकिस्तानसँग खेल्नु हुँदैन

Jasus Khabar 3945+ समाचार ( )
२४ वैशाख २०८२

 भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानको आतकंवादी हमलापश्चात भारतीय टिमले पाकिस्तानसँग खेल्न नहुने प्रतिक्रिया दिएका हुन्।

दिल्लीस्थित मंगलबार एक कार्यक्रममा बोल्दै उनले  पाकिस्तानसँग न्युट्रल भेन्युमा पनि खेल्न नहुने प्रतिक्रिया दिए।

जबसम्म आतंककारी हमला रोकिँदैन तबसम्म भारत र पाकिस्तानबिच केही पनि कार्यक्रम गर्न नहुने उनले बताए।  ‘आतंकवादी हमलाको काम बन्द नहुँदासम्म भारत र पाकिस्तानबिच खेलसहित कुनैपनि दिपक्षीय काम गर्न हुँदैन।’

अप्रिल २२ मा काश्मिरमा भारतमा २६ जनाको हत्यापश्चात भारत र पाकिस्तानको द्वन्द्व पिकमा पुगेको हो। मंगलबार राती पुनः भारतले पनि पाकिस्तान पक्षको काश्मीर क्षेत्रमा हमला गरेपश्चात यो द्वन्द्व अझ भड्किने देखिन्छ। 

भारतले २०१३ यता पाकिस्तानसँग कुनैपनि खालको द्विपक्षीय खेल खेलेको छैन। भारत र पाकिस्तानले एसिया कप र आइसीसीको प्रतियोगिताहरूमा मात्रै एकअर्काको सामना गर्ने गरेका छन्। 

हालसम्म भारत र पाकिस्तानबिचको खेल न्युट्रल भेन्युमा मात्रै हुने गरेको छ। यी दुवै टोलीले महिला र पुरुष दुवैतर्फको एसिया कपमा खेल्ने तालिका रहेको थियो। त्यस्तै पुरुष टिमले २०२६ को टी–२० विश्वकपमा आमनेसामने हुने तालिका रहेको छ। 

‘यसो त यो सरकारले गर्ने निर्णय हो। हामीले उनीहरुसँग खेल्ने कि नखेल्ने भन्ने। कुनै पनि खेल वा बलिउड अथवा कुनैपनि काम भारतीय सेना र नागरिकभन्दा माथि हुँदैन,’ प्रमुख प्रशिक्षक गम्भीरले भने।

‘भारतीय क्रिकेट बोर्ड र सरकारको निर्णय हुनेछ। म कोही पनि होइन। निर्णय जे भए पनि हामी त्यसको लागि तयार छौं,’ उनले भने।

प्रतिक्रिया