वीरगञ्ज महानगरले थाल्यो बेवारिसे सवारी साधन हटाउने अभियान

Jasus Khabar 3945+ समाचार ( )
२९ वैशाख २०८२

वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा अव्यवस्थित राखिएका बेवारिसे सवारी साधन र उपकरण हटाउन अभियान सुरु गरेको छ।

महानगरले सडक, फुटपाथ र अन्य सार्वजनिक स्थानलाई सफा र हरियाली बनाउन बेवारिसे सवारी साधन व्यवस्थापन गर्न थालेको हो। आज वडा नं–२२ जगरनाथपुरमा सडकको फुटपाथमा दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाइएको छ। नगर प्रहरी र सरसफाइ टोलीले दुई क्रेनको सहायताले रोलर हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले बताए।

महानगरले बसपार्क क्षेत्रमा चालू नरहेको एक बस र एक ट्रक पनि हटाएको छ। ती सवारीसाधनलाई डम्पिङ साइटमा लगिएको छ। गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाइएको थियो। महानगर प्रमुख राजेशमान सिंहले पटकपटक सूचना जारी गर्दा पनि सवारीसाधन नहटाएपछि महानगरले अभियान थालेको बताए।

सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित र प्रयोगविहीन सवारीसाधन तथा संरचनाले सहरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण यो अभियान चलाइएको हो।

प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहर बनाउने अभियान थालेको बताए। ‘सहर हामी सबैको साझा घर हो। नागरिकले नियम पालना गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगर बनाउन सक्छौँ,’ उनले भने। महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीय बासिन्दासँग सहकार्यमा यो अभियान चलाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार