पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ। यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापन मार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो।>
भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुर्ख्याैली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताए।>
मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ। भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन्। धार्मिकस्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्द्धन गर्न यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडाअध्यक्ष पुनले बताए।>
“गाउँपालिकाको नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो। रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्”, उनले भने, “१२ लाख रूपैयाँ बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रयस्थल निर्माण भएका छन्।”>
प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ९० हजार रूपैयाँ बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ। भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताए।>
“पूजाआजाको समयमा भीडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो”, उनले भने, “घेराबार, पदमार्ग र खानेपानी लगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ।”>
भूमेपूजाका लागि शहरबजार र विदेशमा गएकाहरू पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ।>
“म्याग्दीका सबै मगर बस्तीमा जेठमा भूमे पूजा गर्ने चलन छ। केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ। गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुर्ख्याैली नाच प्रस्तुत गर्छन्”, उनले भने।>
विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्व वडाध्यक्ष गमप्रसाद फगामीले बताए।>
उनका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ।>
पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताए।>
यसैगरी हिस्तानको औलास्थित धार्मिकस्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ। विभिन्न टोलका पुर्ख्याैली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन्।>
हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ। गुराँसे जङ्गलका बीचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ। अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो। >>