सत्ता होइन राष्ट्र रोजेँ : सुनसरी–४ बाट एमालेसँग उभिने अबुल हुसेन अन्सारी

Jasus Khabar 3925+ समाचार ( )
२६ माघ २०८२

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ का सामाजिक–राजनीतिक अभियन्ता अबुल हुसेन अन्सारीले आफू सत्ता वा पदको खोजीमा नभई राष्ट्र र जनताको पक्षमा उभिन नेकपा एमाले रोजेको स्पष्ट पारेका छन्।


आफ्नो सार्वजनिक अभिव्यक्तिमा अन्सारीले भने, “म सत्ता खोज्ने नेता होइन, न त सम्झौता गर्ने राजनीति नै गर्छु। जनताको पीडा देखेर चुप बस्न नसक्ने एउटा साधारण नागरिक हुँ।” उनले पछिल्ला ३५ वर्षदेखि आफ्नो निर्वाचन क्षेत्र ‘बन्दकी’ बनाइएको, पटक–पटक लुटिएको र अब ‘टुरिस्ट उम्मेदवार’का लागि उपयुक्त स्थान नरहेको टिप्पणी गरे।


अन्सारीका अनुसार सुनसरी–४ मा परिवर्तनको आवाज उठेको छ र त्यसको परिणाम जित वा हार जे भए पनि समयले बताउनेछ। “यो देश धेरै पटक नाराका नाममा, सत्ताको सौदाबाजीमा र अवसरवादी राजनीतिमा लुटियो,” उनले भने, “जब देश अस्थिर बनाइयो, संविधान कमजोर पार्न खोजियो र जनताको विश्वास तोडियो, त्यस बेला अडिएर उभिने शक्ति नेकपा एमाले नै बन्यो।”


उनले सत्य बोल्दा आलोचना र राष्ट्रको पक्षमा उभिँदा आक्रमण सहनुपरे पनि डराएर राजनीति गर्ने हो भने देश कहिल्यै बलियो नबन्ने धारणा व्यक्त गरे।


नेकपा एमाले गल्ती नगर्ने पार्टी नभए पनि गल्ती सच्याउँदै राष्ट्रको बाटो नछोड्ने पार्टी भएको उनको दाबी छ।


“न त म भीडको पछाडि लागेँ, न त कुर्सीको पछि,” अन्सारीले भने, “म राष्ट्रको पक्षमा उभिएँ—यसकारण म नेकपा एमाले हुँ।”


अन्सारीको यो अभिव्यक्तिलाई स्थानीय राजनीतिक वृत्तले आगामी निर्वाचन सन्दर्भमा अर्थपूर्ण संकेतका रूपमा हेरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार