प्रेम मानवीय जीवनको अत्यन्त संवेदनशील र गहिरो अनुभूति हो। हर्ष, दुःख, आशा, निराशा, भरोसा र धोका यी सबै भावनाहरू प्रेमसँग गाँसिएका हुन्छन्। मानव इतिहासमा प्रेमले सकारात्मक परिवर्तनदेखि लिएर विनाशसम्मका अनेक उदाहरणहरू दिएको छ।>
पछिल्लो समय प्रेम सम्बन्धमा विवाद, विफलता र असमझदारीका कारण आत्महत्याका घटना दिनानुदिन बढ्दै गएका छन्। यो गम्भीर र चिन्ताजनक अवस्था हो। प्रेममा असफलताको कारण ज्यान फाल्नु कदापि समाधान हुन सक्दैन। यस्तो समस्याको न्यूनीकरणका लागि समाज, परिवार, शैक्षिक संस्था, सञ्चारमाध्यम र राज्य निकाय सबै जिम्मेवार बन्न आवश्यक छ।>
>
पछिल्लो दशकमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग, परिवर्तनशील जीवनशैली, सस्तो भावनात्मक आकर्षण र समाजको प्रेमप्रतिको अपुग समझदारीले गर्दा किशोर–किशोरी र युवायुवतीहरू असहज मानसिक अवस्थामा पुग्न थालेका छन्। प्रेममा साँचो साथ, समझदारी र पारिवारिक समर्थनको अभाव हुँदा उनीहरू एक्लोपन महसुस गर्न थाल्छन्। यही एक्लोपनले मानसिक तनाव, निराशा र अन्ततः आत्महत्यासम्म पुर्याउने अवस्था सिर्जना गर्छ। प्रेम असफल हुँदा वा सम्बन्ध टुट्दा ज्यान फाल्नुपर्ने बाध्यता छैन भन्ने शिक्षा र सचेतना अझै पर्याप्त छैन।>
>
आत्महत्या कुनै समस्या समाधान होइन, बरु समस्यालाई अझ जटिल बनाउने कार्य हो। एक व्यक्तिको आत्महत्याले परिवार, आफन्त, साथीभाइ र समाजलाई जीवनभरको पीडामा पार्छ। विशेष गरी प्रेम सम्बन्धमा आत्महत्या गर्नेहरू प्रायः अपरिपक्व निर्णय गर्ने उमेर समूहका हुने भएकाले उनीहरूलाई समयमै मार्गदर्शन, सहानुभूति र मनोपरामर्श आवश्यक पर्छ।>
>
सामाजिक सञ्जालले प्रेमलाई बढी सतही बनाइदिएको छ। केही महिनाको चिनाजानीमा गहिरो प्रेमको आभास लिने र सानो असहमति वा विवादपछि सम्बन्ध तोडिनु सामान्य बनिसकेको छ। यस्तो परिस्थितिमा परिवार र समाजले प्रेमलाई सहज रूपमा लिन सक्ने वातावरण बनाउनु जरुरी छ। प्रेममा असफलता आउनु स्वाभाविक हो, र त्यसलाई जीवनको अन्त्य ठान्नु कदापि हुँदैन भन्ने सन्देश दिनुपर्ने अवस्था आएको छ।>
>
शिक्षा संस्थाहरूले नियमित रूपमा प्रेम, जीवन कौशल, मानसिक स्वास्थ्य र आत्महत्याको रोकथामबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु जरुरी छ। विद्यार्थीहरूलाई आफूभित्रको भावना खुला रूपमा अभिव्यक्त गर्ने अवसर दिनु आवश्यक छ। अभिभावकहरूले पनि छोराछोरीसँग मित्रवत् व्यवहार गर्दै प्रेम सम्बन्ध र जीवनका यथार्थ पक्षबारे कुराकानी गर्नुपर्ने अवस्था छ।>
>
सञ्चारमाध्यमहरूले प्रेम सम्बन्धी आत्महत्या जस्ता घटनालाई सनसनीखेज रुपमा नभई सामाजिक शिक्षा दिने उद्देश्यले प्रकाशन–प्रसारण गर्नुपर्छ। आत्महत्याका समाचारहरूले पीडित परिवारमा झन् आघात पुर्याउने भएकाले जिम्मेवार पत्रकारिता अपरिहार्य छ। सामाजिक सञ्जालमा प्रेम सम्बन्धका विवादहरूलाई उत्तेजित पार्ने वा व्यंग्य गर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्छ।>
>
सरकार र सरोकारवाला निकायहरूले आत्महत्या न्यूनीकरणका लागि मनोपरामर्श केन्द्रहरू, हेल्पलाइन सेवा, मानसिक स्वास्थ्य शिविर र जीवन–सीप विकासमूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ। आत्महत्या न्यूनीकरण राष्ट्रिय ऐजेण्डा बन्नुपर्ने अवस्था छ।>
>
अन्त्यमा, प्रेममा असफल हुनु जीवनको अन्त्य होइन। प्रेम एक अनुभूति हो, अवसर हो । जहाँ खुशी, पीडा, सफलता र असफलता सबै हुन्छन्। प्रेममा धोका वा असफलता जीवनमा नयाँ अवसर र बाटोको सुरुवात हो भन्ने सोच राख्नु जरुरी छ। प्रेम सम्बन्धमा आत्महत्या न्यूनीकरणका लागि समाज, परिवार, शैक्षिक संस्था, सञ्चारमाध्यम र राज्य सबैले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नुपर्छ।>
>