रौतहटसहित मधेश प्रदेशका जिल्लामा हिन्दू नारीको महान् चाड हरितालिका तीजको रौनकताले झप्पकै छोपेको छ । अहिले गाउँ घर र शहर, बजारमा चहलपहल सुरु भइसकेको छ भने बजारमा किनमेल गर्नेहरूको भिडभाड उत्तिकै बढेको छ । तीजमा महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा रहेको देखिन्छ ।>
विशेषगरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । तराई मधेशका पहाडी समुदायका महिलाहरुमा सिमित रहेको तीज पर्व पछिल्लो समय यहाँका मधेशी समुदाय माझ पनि लोकप्रिय छ । मधेशमा रहेका पहाडी समुदायका महिलाहरुसँगै उनीहरु पनि दरखाने र भक्तिपूर्वक उपवास बस्ने गर्दछन् ।>
तीज पर्वको आफनै धार्मिक, मौलिकता र संस्कृति रहेकाले मनाउन थालिएको देवाही गोनाही नगरपालिका वडा न. ९ की रेनुकुमारी गुप्ताले बताइन् । यसपटक पनि तीजको व्रत बस्ने तयारी थालेको उनको भनाइ छ ।>
तीजलाई सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने निकै रमाइलो र महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । अहिले गाउँ घरमा आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ । गाउँमा सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम पनि बाक्लिन थालिसकेको छ । यहाँका संघसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् ।>
चन्द्रपुरमा रहेको बिन्दावासीनी सहकारीले यही भदौ ४ गते तीजको दर खाने र नाचगानको कार्यक्रम गरेको हो । यहाँ वित्तीय तथा अन्य संघसंस्थाले पनि प्रत्येक वर्ष तीजको दर खाने र नाचगानको कार्यक्रम गर्दै आएको छ । यस वर्षका लागि केहीले दर खाने कार्यक्रम गरिसकेका छन् भने धेरैजसोले मिति तोकेर तयारी थालेका हुन् ।>
तीज आउनुभन्दा एक साता अघिदेखि होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति अहिले पनि कायमै छ । यो तीज पर्वको मर्म र भाव विपरित भएको चिन्ता पनि अगुवा महिलाहरुबाट नै सुनिन्छ । तीजमा महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने होडबाजी विकृतीका रूपमा रहेको चन्द्रपुरकी दुर्गा पौडेललाई चिन्ता छ । तीजको परम्परा र संस्कृति जोगाउँदै महिलाले सो अनुरुपमा मनाउनुपर्ने उनको भनाइ छ ।>
तीजका गीत संगीत पनि पछिल्लो समयमा भने परिवर्तन हँदै गएको छ । अहिले बजारमा तीजका नाममा अधिकांश भड्किला, उत्तेजित र मायाप्रितिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको हो ।>
एक दशकभन्दा पहिला जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुःख गीतबाटै भाव व्यक्त गर्दै रमाइलो गद्र्थे । तर अहिलेको तीज गीतमा त्यस्तो भाव नै पाइँदैन ।>
तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने सचेत महिलाहरु बताउँछन् । अर्कोतर्फ तीज पर्वले महिलालाई मात्र नभइ व्यापारीहरुको व्यवसाय पनि फाइदा पुगेको छ ।>
विगतका वर्षमा जस्तै यस वर्ष पनि तीज आउनुभन्दा अघिदेखि नै चन्द्रनिगाहपुरका कपडा तथा साडी, कस्मेटिक, ब्युटी पार्लर र सुनका गरगहनाका पसलमा महिलाहरुको भिडभाड छ । यस वर्ष भदौ ९ मा दर खाने र १० गते हरितालिका तीजको व्रत रहेको पात्रोमा उल्लेख छ ।>>