राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिने संकेत गरेको छ । गभर्नरका लागि दौडमा रहेकाहरूको रोचक प्रतिस्पर्धाले परिस्थिति हरेक दिन फेरिँदै आएको छ । गभर्नरकै कारण सत्ता गठबन्धन फेरबदल हुनेसम्मको चर्चा चलेको थियो । त्यही चर्चाका बीचमा एमाले र कांग्रेसले गभर्नर नियुक्तिमा सहमति जुटाएका थिए ।>
एमाले र काग्रेसले प्याकेजमा सहमति गर्ने क्रममा गभर्नर कांग्रेसको कोटाबाट नियुक्त गर्ने सहमति भएको थियो । कांग्रेसले गभर्नर पाउने भएपछि नेपाल प्रहरीको एआईजी बढुवा भने एमालेले चाहेअनुसार गर्ने गरी सहमति भएको थियो । एआईजी बढुवा प्रक्रिया टुंगो लागिसकेको छ भने गभर्नर नियुक्तिको प्रक्रिया टुंगो लागेको छैन । >
स्रोतहरूका अनुसार गभर्नरका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरेका छन् । एमालेसँग सहमति जुटेपछि देउवाले भट्टसँग छलफल पनि गरेका छन् । स्रोतको भनाइमा कांग्रेस पदाधिकारी र मन्त्रीसहितको बैठक बस्नुअघि देउवाले भट्टसँग छलफल गरेका थिए । उक्त छलफलका क्रममा भट्टलाई गभर्नरको 'ग्रीन सिग्नल' दिएका थिए ।>
त्यही ग्रीन सिग्नलपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । राजीनामा स्वीकृत भने भइसकेको छैन । गभर्नर छनोट समितिले तीन जनाको नाम सिफारिस गर्दा डेपुटी गभर्नरमध्ये एक जनालाई सिफारिस गर्नुपर्ने हुन्छ । सोहीकारण कार्यकारी निर्देशकलाई सिफारिस गर्न मिल्ने वा नमिल्ने भन्ने प्रस्ट व्यवस्था नभएका कारण भट्टले राजीनामा दिएर उम्मेदवार भएका हुन् ।>
तर, अहिले उनको राजीनामा भने कामु गभर्नर निलम ढुंगानाले रोकेकी छिन् । ढुंगाना स्वयम् पनि गभर्नरको दौडमा थिइन् । उक्त दौडमा रहेकी ढुंगानालाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रयास गरेका थिए । उनले वचन नै दिएको चर्चा पनि छ । आफू गभर्नर हुन नपाउने भएपछि ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको चर्चा पनि भइरहेको छ ।>
शुक्रबार भट्टले राजीनामा दिएका थिए । ढुंगानाले भट्टको राजीनामा कामु गभर्नर स्वीकृत गर्न नमिल्ने भनेर अड्काउन खोजेकी छिन् । त्यही कारणले पनि गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिने सम्भावना देखिएको छ । ढुंगानाले अड्काउन खोजेका कारण अन्य बिचौलियाहरू पनि प्रवेश गर्ने सम्भावना छ । >
सञ्चालक समिति सदस्य रहेका रवीन्द्र पाण्डे, पूर्वमुख्यमसचिव राजेन्द्रकिशोर क्षेत्री, ज्ञानेन्द्र ढुंगाना, प्रकाश श्रेष्ठ, वमकुमार मिश्रसहित ठूलो पंक्ति गभर्नरको दौडमा थिए । ज्ञानेन्द्र ढुंगाना भने नबिल बैंकमा सीईओ छोडेरै प्रतिस्पर्धामा उत्रिएका छन् । >
>>