आसन्न चाडपर्वहरूमा सहज आवागमनका लागि बीपी राजमार्गको मर्मत सुरु गरिने भएको छ।>
गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनाएको यो सडक दुई हप्ताभित्रै मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।>
मनसुनको समयमा पनि सडक अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालयले विशेष तयारी गरेको थियो।>
सडकमा ग्याबियन जालीको पर्खाल लगाइएको थियो र ठूला बोल्डरहरू पनि तयारी अवस्थामा राखिएका थिए।>
स्थायी पुनर्निर्माणको योजना>
सडक डिभिजन कार्यालयका अनुसार, गत वर्ष असोजमा बाढीले पूर्णरूपमा बगाएको ८ किलोमिटर सडकसहित २९ किलोमिटर क्षतिग्रस्त सडकलाई स्थायी रूपमा पुनर्निर्माण गरिनेछ।>
यो सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ।>
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पाँच किलोमिटर सडकखण्डको काम गर्नेछ। पुनर्निर्माणको स्थायी काम मनसुन सकिएपछि मात्रै सुरु हुनेछ। यो राजमार्गलाई ‘इन्टरमिडियट लेन’ बाट दुई लेनमा विस्तार गरिनेछ।>
सरकारले यो कामको लागि भक्तपुर सडक डिभिजनलाई रु ७ अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु १ अर्ब उपलब्ध गराएको छ।>
रातको समयमा सवारी साधन रोक>
सडकको जोखिमका कारण बीपी राजमार्गमा भदौ मसान्तसम्म राति १२ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन।>
बीपी राजमार्ग धुलिखेल-सिन्धुली-बर्दिबाससम्मको १६० किलोमिटर लामो सडक हो, जसले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गको रूपमा काम गर्दछ। यसको निर्माण जापान सरकारको सहयोगमा २०५३/५४ सालमा सुरु भई २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।>>