१५ जेठ २०८२

अजमल अन्सारी

सुनसरी । गणतन्त्र दिवस २०८२ को अवसरमा सुनसरी जिल्लामा विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरिएको छ। जिल्ला स्तरीय समिति सुनसरीको आयोजनामा भोलि बिहिवारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।


जिल्ला स्तरीय सुरक्षा समिति सुनसरीले जारी गरेको निर्णय अनुसार जेष्ठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ-संस्थाका कार्यालयहरुको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापुर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु तथा घरघरमा दीप प्रज्वलन गर्ने जनाएको छ ।


यसैगरी जेष्ठ १५ गते बिहान ६ बजे जिल्ला स्थित सम्पूर्ण जनप्रतिनिधि, स्थानीय समाजसेवी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरु समेत जिल्ला प्रशासन कार्यालय सुनसरीमा भेलाजम्मा भएर प्रभातफेरी कार्यक्रम गर्ने जनाएको छ ।


यस्तै स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा स्वास्थ्य सेवा सम्वद्ध सरकारी, गैर सरकारी तथा सामुदायिक एवं शैक्षिक संघसंस्थाहरुद्वारा रक्तदान, खेलकुदका सामाग्रीहरु वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्ने जनाएको छ ।


त्यस्तै दिवस अवधीमा जिल्लामा रहेको सार्वजनिक महत्वका स्थानहरु, सामाजिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वका सम्पदास्थलहरुको सरसफाइसहित परिसर एवम् समस्त स्थलहरुमा जनप्रतिनिधि, स्थानीय समाजसेवी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरु समेतको सामुहिक सहभागितामा साँझ दीप प्रज्वलन गर्ने समितिले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय समितिका सदस्य समेत रहनुभएका धर्मेन्द्र कुमार मिश्रले गणतन्त्र दिवसलाई राष्ट्रिय एकता, समावेशिता र लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरणको अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ।


"गणतन्त्र दिवस नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। यस अवसरमा राष्ट्रप्रति समर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्नु आजको आवश्यकता हो," प्रजिअ मिश्रले भन्नुभयो।


यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक तथा जिल्ला स्तरीय समितिका सदस्य समेत रहनुभएका सुमन कुमार तिम्सिनाले गणतन्त्र दिवसका कार्यक्रमहरूलाई लक्षित गरी जिल्लाभित्र विशेष सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो।


"कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लाभरि प्रहरी गस्ती, ट्राफिक व्यवस्थापन र कार्यक्रम स्थलको सुरक्षा निगरानी कडा पारिएको छ। शान्ति सुरक्षामा कुनै सम्झौता गरिँदैन," प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो।


उहाँले सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको सन्देश दिंदै उत्साहपूर्वक, शान्तिपूर्ण र मर्यादित रूपमा गणतन्त्र दिवस मनाउन आग्रह गर्नुभएको छ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले सबै सरकारी, गैरसरकारी निकाय, संघसंस्था, समाजसेवी, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरूलाई कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई गणतन्त्र दिवसको गरिमा थप बढाउन अनुरोध गरेको छ।

प्रतिक्रिया