भक्तपुर अस्पतालमा आइतबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । अस्पताल स्थापनाको एक सय २० वर्षपछि पहिलो पटक सिटी स्क्यान मेसिन खरिद गरी सेवा सञ्चालनमा ल्याइएको हो ।>
वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालमा आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालनसँगै महँगो निजी अस्पतालहरुमा उपचारका लागि जानुपर्ने बाध्यता हटेको छ । साथै काठमाडौंसम्मै पुग्नुपर्ने जिल्लाबासीको बाध्यताको पनि अन्त भएको छ ।>
बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो । मेसिन (उपकरण) बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिएको अस्पताल प्रशासनले जनाएको छ।>
सेवा सुरु गर्नका लागि अस्पतालले अस्पताल गेटमै अस्थायी एक तल्ले भवन बनाएको थियो । त्यहीबाट सेवा प्रारम्भ गरिएको हो । सेवाको शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मेसिन जडानबाट जिल्लाबासीले सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिए। >
सोही अवसरमा मन्त्री थापाले अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिनको पनि उद्घाटन गरे । साथसाथै सोही दिन अन्य तीन वटा सेवाहरूको पनि शुभारम्भ गरिएको थियो ।>
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, माओवादी नेता डिपी ढकाल, भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापालगायतले सेवा शुभारम्भसँगै जिल्लाबासीले सहज सेवा पाउने विश्वास व्यक्त गरे ।>
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले अस्पतालमा अझै विविध सेवा थप्न बाँकी नै रहेको बताए । अस्पतालमा भवन बनाउनुपर्नेदेखि लिएर न्युरो सेवा, आँखाको विविध सेवा, किड्नी बिरामीका लागि डाइलासिस सेवा, मुटुका बिरामीका लागि क्याथल्याव सेवालगायतका विविध सेवाहरु थप्ने योजना रहेको जानकारी गराए ।>>