जलविद्युतमा झुम्मिए सेयर लगानीकर्ता

Jasus Khabar 3925+ समाचार ( )
२५ वैशाख २०८२

 विगत ३ दिनदेखि जलविद्युत्को सेयर बढिरहेको छ । नेप्से परिसूचकमा सोमबार ३४७७.५१ विन्दुमा रहेको जलविद्युत्क्षेत्रको सेयर बुधबार ३५२६.२७ विन्दुमा पुगेको छ । अन्य क्षेत्रभन्दा जलविद्युत् व्यापार र बजारयोग्य देखिएकाले यसमा लगानीकर्ताको आकर्षण बढ्दा सेयर पनि बढिरहेको सेयर जानकार नवराज दहाल बताउँछन् । अन्य क्षेत्रभन्दा पनि जलविद्युतमा सकारात्मक रहेकोले अझै केही समय यसमा हरियाली छाउने उनको भनाइ छ ।

नेप्से परिसूचकमा कुल ९१ जलविद्युत् कम्पनी सूचीकृत छन् । 

बुधबार नेप्से परिसूचक २६१३.७८ विन्दुमा रहेकोमा २६७३.६४ विन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन ३०८ कम्पनीको कुल बजार कारोबार १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा जलविद्युत् कम्पनीको मात्रै ६ अर्ब ९६ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो । १ करोड ८९ लाख ८६ हजार ६०२ कित्ता जलविद्युत् कम्पनीको सेयर कारोबार भएको छ ।

कम्पनीले वाणिज्य बैंक जत्तिकै अझै केहिले बढी नै लाभांश वितरण गर्न थालिएपछि सेयर लगानीकर्ता त्यता मोडिएको उनको भनाइ छ । जलविद्युत्को सेयर कारोबार बढ्नुमा मिलिनियर च्यालेन्स कर्पोरेसन (एमसीसी) को नेपालमा निरन्तरता पनि लिन सकिने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी खारेज हुने भन्दै गर्दै नेपालमा खारेज नहुने भनेपछि त्यसले पनि जलविद्युतमा सकारात्मक सन्देश दिएको दहाल बताउँछन् । एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने ३१५ किलोमिटरको बुटवल गोरखपुर ४ सयकेभी प्रसारणलाइन बनेपछि आन्तरिक तथा भारतमा बिजुली वितरण सहज हुने देखिन्छ । यस्तै, सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र चाँडै नै विद्युत् व्यापार अनुमति(पीपीए) खोल्ने आशाका कारण पनि जलविद्युत्को सेयरमा आकर्षण बढेको सेयर जानकार दहालले जानकारी दिए ।

अधिक तरलताका कारण केही समयदेखि वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घटाएका छन् । जलविद्युत् लगानीमा करिब २५ देखि ३० प्रतिशत लगानी संस्थापक र बाँकी बैंकबाट हुने गरेको छ । बैंकको व्याजदरमा तल÷माथिले जलविद्युत्को खर्च र नाफा प्रभावित हुन्छ । ब्याजदर घट्दा मासिक रूपमा बैंकलाई तिर्नुपर्ने ब्याज रकम पनि घट्छ, यसले सञ्चालन खर्च घटाउँछ र नाफा बढाउँछ । नाफा बढ्दा लाभांश पनि बढ्न सक्ने प्रक्षेपणले जलविद्युत्मा सेयर लगानीकनर्ता झुम्मिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका उपमहासचिव प्रकाश दुलालको भनाइ छ । 

यता, नेपाल धितोपत्र बोर्डमा ४३ जलविद्युत् कम्पनीका प्राथमिक सेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् । यसले गर्दा १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ मूल्यको १९ करोड ३ लाख ६१ हजार ५९५ बराबर कित्ता सेयर बोर्डले स्वीकृति नदिँदा बजारमा आउन सकेको छैन । यसले पनि अहिले जलविद्युत्को सेयर बढ्नुमा भूमिका खेलेको दुलाल बताउँछन् । ‘नयाँ सेयर आएपछि लगानीकर्ता बाँडिन्छन्, नयाँ स्वीकृति नपाएसम्म पुरानोमा नै लगानी बढाउँछन्,’ दुलालले भने ।
 

प्रतिक्रिया