राष्ट्रिय युवा परिषदद्वारा आयोजित संघीय तहको युवा उद्यशीलता प्रवर्द्धन सम्मेलन २०८२ सम्पन्न भएको छ । परिषदले यसअघि कोशीको विराटनगर, मधेशको जनकपुर, गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा प्रादेशिक तहमा उद्यमशीलता सम्मेलन आयोजना गरेको थियो ।>
सोमबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । सो अवसरमा उपराष्ट्रपति यादवले युवामा रहेका उद्यमी सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपर्ने वताए । यादवले जलविद्युत्, पर्यटन, जडिबुटीलगायतका क्षेत्रसँग सम्बन्धित उद्यमलाई प्रोत्साहन गर्दै दिगो विकास लक्ष्यमा जोडदिनुपर्ने बताए ।>
सम्मेलनमा उपराष्ट्रपति यादवले भने, 'हामीले एकातिर नेपाली युवामा रहेका उद्यमी सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर उनीहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ ।'>
यादवले युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनले युवामा उद्यमी बन्ने सोच, आर्थिक उपार्जनमा संलग्नता र समृद्ध राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई उजागर गर्ने बताए ।>
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गएको पाँच वर्षमा ६० लाख युवा बाहिर गएको र सोही अवधिमा ५० लाख युवा स्वदेश फर्किएको दावी गरे । मन्त्री भण्डारीले सिप, उद्यमशीलता र रोजगारीलाई संगसँगै लानुपर्ने बताए । भण्डारीले सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक मनाउन लागेको चर्चा गरे ।>
उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रालय स्टार्टअप र युवा उद्यमशीलता प्रवर्द्धनमा लागिरहेको जानकारी दिए । मन्त्री भण्डारीले भने, 'उद्योग मन्त्रालयले युवालाई व्यावसायिक परियोजनाका आधारमा ५ लाखदेखि २५ लाखसम्म स्टार्टअप कर्जा दिन सुरुवात गरेको छ ।'>
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आयातले धान्दै आएको अर्थतन्त्रलाई उद्यमशीलता प्रवर्द्धन गरी निर्यातमूलक बनाउन पहलगर्नुपर्ने बताए । चौधरीले भने, 'युवा उद्यमीहरूलाई उत्प्रेरणा जगाई नयाँ उद्यम विकास गर्न र नयाँ स्टार्टअपहरुलाई लगानीकर्ता खोज्न यस्ता सम्मेलनको विशेष महत्त्व छ ।'>
'समृद्धिका साझा सवाल' विषयक प्यानल सत्रमा सांसदहरू पदम गिरी, उदय शमशेर राणा, माधव सापकोटा र सोविता गौतम रहेका थिए । उनीहरूले उद्यमशीलताको बाटोबाट समृद्धिको यात्राबारे आआफ्ना धारणा राखेका थिए ।>
युवाका लागि अवको निकास: रोजगारी, उद्यमशीलता र सिप विकास' विषयक प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णवहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, बैंङ्कर्स अनिल केसरी शाहले युवा उद्यमशीलता प्रवर्द्धनबारे चर्चा गरे । सो प्यानलको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले गरेका थिए ।>
यसैगरी स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँचबारे राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, नबिल बैंकका सीईओ मनोज ज्ञावाली र उद्यम अभियन्ता रन्जीत आचार्यले अलग-अलग प्रस्तुतीकरण गरेका थिए ।>
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीनै तहका सरकारबाट सञ्चालित युवा लक्षित कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । बस्नेतले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धिलगायतका बहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा अनलाइन आवेदनका आधारमा देशभरका ३५० युवा उद्यमी सहभागी रहेको बस्नेतले बताए ।>
>>