शिक्षकले पठनपाठन ठप्प पारेपछि क्रान्तिकारीले गरे इन्जिनियरिङ अध्ययन संस्थानमा तालाबन्दी

Jasus Khabar 3925+ समाचार ( )
५ श्रावण २०८२

इन्जिनियरिङ अध्ययन संस्थान (इअसं)अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा हप्तौँदेखिको पठनपाठन अवरोधको विषयलाई लिएर अखिल (क्रान्तिकारी), प्राविधिक शिक्षा विशेष जिल्ला समितिले आज डिन कार्यालयमा तालाबन्दी गरेको छ।

संगठनका अनुसार, विद्यार्थीहरूको शिक्षामा भइरहेको लापरवाही र समस्या समाधान गर्न प्रशासनले कुनै ठोस कदम नचालेपछि यो कदम चाल्न बाध्य भएको जनाइएको छ।

यसअघि ज्ञापनपत्रमार्फत् डिनज्यू समक्ष आफ्ना मागहरू राखिएको र त्यसलाई बेवास्ता गरिएकाले तालाबन्दी गर्नुपरेको संगठनले स्पष्ट पारेको छ।

यी हुन् अखिल (क्रान्तिकारी)को प्रमुख मागहरू:
१. आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी आङ्गिक क्याम्पसहरूमा पठनपाठन सुचारु गरिनु।
२. परीक्षा तोकिएको शैक्षिक क्यालेन्डरअनुसार नै सञ्चालन गरिनु।
३. प्राविधिक संस्था भित्रका गैर-प्राविधिक गतिविधिहरू तत्काल रोक लगाइनु र भविष्यमा यस्ता कृयाकलाप दोहोरिन नदिन ग्यारेण्टी गरिनु।

संगठनले भनेको छ,’विद्यार्थीको भविष्यसँग खेलवाड गर्नेलाई हामी चेतावनी दिन चाहन्छौँ -अब केही सहन सकिँदैन।’

यदि प्रशासनले अझै पनि गम्भीरता नदेखाएमा अझ कठोर आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी इअसं र त्रिभुवन विश्वविद्यालयले नै वहन गर्नुपर्ने अखिल (क्रान्तिकारी)को चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार