राष्ट्रियसभा बैठक दुई घण्टा ढिला बस्ने

Jasus Khabar 3925+ समाचार ( )
१६ भाद्र २०८२

 राष्ट्रियसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने भएको छ । आज अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ अनुसार अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा बैठक दुई घण्टापछि बस्नेगरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धीपत्रको व्यहोरा जानकारी गराउने तथा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया