श्री बालकृष्ण मा.वि.मा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान

Jasus Khabar 3945+ समाचार ( )
२० आषाढ २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ रामनगर भुटाहा स्थित श्री बालकृष्ण माध्यमिक विद्यालयमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ।


विद्यालयका तर्फबाट शुक्रबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा पालिकाभरि नै उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र माला लगाइ सम्मान गरिएको हो।


सम्मानित विद्यार्थीहरूमा अम्मार अंसारी (३.९० जिपिए), विवेक गुप्ता (३.८८ जिपिए) र सुरज कुमार गुप्ता (३.६५ जिपिए) रहेका छन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त उपस्थिति रहेको कार्यक्रममा उनीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरिएको थियो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकहरू, अभिभावकहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्दै आएको विद्यालयका प्रधानाध्यापक नजामुद्दीन अन्सारीले जानकारी दिनुभयो।


कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक नजामुद्दीन अन्सारीले भने, “हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन निरन्तर प्रयास गरिरहेका छौँ। यस पटकको नतिजाले हाम्रो विद्यालयको शैक्षिक गुणस्तर अझै माथि पुगेको देखिन्छ। सफल विद्यार्थीहरूलाई बधाई छ र अन्य विद्यार्थीहरूलाई पनि यस्तै मेहनत र अनुशासनमा लाग्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना छ।”


विद्यालय परिवारले यस उपलब्धिमा सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घलाई धन्यवाद ज्ञापन गरेको छ।


प्रतिक्रिया