मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी ००९४८९ रहेको छ ।>
अली चार वर्षअघि मुस्लिम आयोगको सदस्यमा नियुक्त भएका थिए । काठमाडौं महानगरपालिका सामाखुुसीस्थित आफ्नै घरमा बस्दै आएका अलीले भाडाको घरमा बसेको भनी प्रत्येक महिना १८ हजारका दरले घरभाडाबापतको रकम मुस्लिम आयोगबाट बुझ्दै आएका छन् । >
राज्यकोषबाट गैरकानुनी लाभ प्राप्त गरेको र नेपाल सरकारलाई हानि–नोक्सानी पुर्याएको भन्दै उनीमाथि कारबाहीको माग गरिएको छ । ‘अलीले अधिकारको दुरुपयोग गरेको हुँदा भ्रष्टाचारको कसुरमा छानबिन गरी कारबाही गरिपाउँ भनी यो निवेदन पेस गरिएको छ । निष्पक्ष रूपले छानबिन गरी कारबाही गरिपाऊँ,’ अख्तियारमा दायर उजुरीमा भनिएको छ । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि वरिष्ठ सदस्यका हैसियतमा अलीले केही दिनअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।>
अख्तियारले अलीविरुद्ध परेको उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रिपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उजुरी पठाएर आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले मुस्लिम आयोगलाई वास्तविकता के हो भनी सोधेको थियो । अलीले काठमाडौंको घर भत्केकाले भाडामा बस्नुपरेको भन्दै अख्तियारबाट जोगिन खोजेको स्रोतको दाबी छ । उनले आफ्नै घरमा बसोबास गरेर भाडामा बसेको भनी सुरुमा घरभाडा लिएका थिए । अख्तियारमा उजुरी परेपछि भने उनले केही महिनादेखि आयोगबाट घर मर्मतको नाममा पैसा लिने गरेको स्रोतले बतायो । >
अलीले घरभाडाबापत साढे आठ लाखभन्दा बढी बुझिसकेका छन् । राज्य स्रोतमा हानि–नोक्सानी पुर्याउने व्यक्तिलाई संवैधानिक आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । उनले छोरा मक्सुद अलीलाई स्वकीय सचिव बनाएर सेवा–सुविधा दिलाएका छन् । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अलीलाई संरक्षण गरिरहेको स्रोतको दाबी छ । अली र मियाँ नातामा दाजुभाइ पर्छन् ।>
अलीले पनि आफूले घरभाडा लिएको स्वीकार गरेका छन् । उनले आफ्नो घरमा पार्किङको सुविधा नरहेकाले तीन वर्ष भाडाको घरमा बसेको दाबी पनि गरेका छन् । अलीले भाडाको घरमा बसेको दाबी गरे पनि उनी नियुक्ति भएदेखि नै आफ्नो घरमा बस्दै आएका छन् । सुरुमा अलीले आफ्नो काठमाडांैमा घर नरहेको झुटो विवरण दिई आयोगबाट घरभाडा लिइरहेका थिए । >>