फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

Jasus Khabar 3925+ समाचार ( )
१८ श्रावण २०८२

विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो। ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन्। उनका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन्। तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन्। २३ जना पुरुष र एक महिला विदेशी रहेको उनले जानकारी दिए।

पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैंकिङ कसुर रहेका छन्।

कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ। उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ।

फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानुनी दायरामा ल्याउन बाँकी रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया