खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बेच्दै: मूल्य कति?

Jasus Khabar 1+ समाचार ( )
२० अशोज २०८१

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र ३०० च्याङ्ग्रा भित्रिएको जानकारी दिइन्। हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आएको र बाँकी बस्तुहरू आउने तयारीमा रहेको उनले बताइन्। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ।


चाडपर्वको समयमा उपभोक्तालाई उचित मूल्यमा सेवा दिन कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्दछ। यसपालि दसैँको अवसरमा कम्पनीले १,१०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउने योजना बनाएको छ।

निजी व्यवसायीले घटस्थापनाको दिनदेखि खसीबोका बिक्री गर्न थालेका छन्। दसैँमा खसीबोकाको उच्च खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका ल्याएर उपत्यकामा बिक्री गर्दैछन्।



प्रतिक्रिया