अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घा भगवति मन्दिरमा ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लिच्छवी कालदेखिनै अर्घा दरवार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा छमछमी लाखे नाच नाच्ने परम्परा रहि आएको छ ।>
श्रीकृष्ण जन्माष्टमीको दिन बिहान भगवान श्रीकृष्णको पूजाआजा र काल भैरवको पूजा गरी काल भैरव समानकै लाखे नाच नाच्ने अर्घा मन्दिरको परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए । >
लाखे नाच नाचेमा भगवान शिव र भगवती देवी खुशी हुने धार्मिक मान्यता छ । भगवान शिवको प्रतिकको रुपमा काल भैरव जस्तै गरी लाखे नाचिन्छ । काल भैरवको जस्तै स्वरुपमा नाच्ने यसलाई अर्घाको लाखे नाचका नामले परिचित रहेको स्थानीय ठाकुर गन्धर्वले बताए । यो नाच सात तालसम्म नाच्ने गरिन्छ । >
राक्षस कंसको वध गर्न कृष्ण जन्मिएको खुशीयालीमा बाइसे चौविसे राज्यअन्तर्गत पर्ने अर्घा भगवती मन्दिरमा लाखे नाच नाच्ने परम्परा रहेको स्थानीय कृष्ण भुसालले बताए । लाखे नाच अर्घामा प्रसिद्ध छ । पञ्चेबाजाको तालमा छमछमी नाचिने यो नाच हेर्न अर्घाखाँची आसपासका जिल्लाका स्थानीयहरू आउने गर्छन् । लाखे नाचपछि यस स्थानमा तीजको गीत गाउने र नाच्ने गरिन्छ । पञ्चेबाजाको तालमा सात तालसम्म नाचिने यस नाचमा लाटो खिजाउने पनि सँगै नाच्ने प्रचलन छ । >
वर्षे दशैं र चैते दशैंमा दुर्गा भगवतीको विशेष वैदिक विधिपूर्वक पूजाआजा हुँदै आएको यस मन्दिर सराये नाचको उदगम स्थल रहेको स्थानीय शालिकराम भुसालले बताएका छन् । कोजाग्रत पूर्णिमामा लाग्ने सराये नाच पञ्चांगमा पनि समावेश छ ।>
श्रीकृष्ण जन्माष्टमीका दिन अर्घामा भैरवको पूजाआजा गरेर लाखे नाच प्रस्तुत भएपछि जिल्लामा विभिन्न स्थानमा नेवारी समुदायले भैरव नाच समेत नाच्न सुरू गर्दै आएका छन् ।>
>>>>>