एमालेबाट अन्सारीलाई धोका : मनोनयन दर्ताकै बेला टिकट खोसियो

Jasus Khabar 3958+ समाचार ( )
७ माघ २०८२

सुनसरी । सुनसरी–४ मा नेकपा एमालेभित्रको आन्तरिक निर्णयले राजनीतिक तरंग ल्याएको छ । एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी अन्तिम समयमा आएर रद्द गरेको हो ।

एमाले जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गर्ने निर्णय गरिसकेको जानकारी दिएका छन् । उक्त निर्णय निर्वाचन आयोगमा औपचारिक रूपमा पठाइने तयारी भइरहेको उनले बताए ।

“अध्यक्ष ओलीले फोन गरेर कुसियैत कमरेड नै सुनसरी–४ बाट उठ्ने र अन्सारीलाई दिइएको टिकट रद्द गरिने जानकारी दिनुभयो,” यादवले ओलीसँग भएको फोन वार्ता उद्धृत गर्दै भने ।

अन्सारी आइतबार मात्रै अध्यक्ष ओलीबाट खादा ओढेर एमाले प्रवेश गरेका थिए । प्रवेशसँगै उनले सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर मनोनयन दर्ताको तयारीकै क्रममा उनको उम्मेदवारी रद्द गरिनु एमालेभित्रकै शक्ति संघर्षको संकेतका रूपमा हेरिएको छ ।

अन्सारी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार हुँदा २४६ मत मात्र ल्याएका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

एमालेले सुनसरी–४ को उम्मेदवारी सच्याएसँगै अब त्यहाँ कुसियैतको प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग हुने भएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका कार्कीले कुसियैतलाई जम्मा ११२ मतले पराजित गरेका थिए ।

यसअघि अन्सारीलाई सुनसरी–४ को उम्मेदवार बनाइएपछि कुसियैत सुनसरी–२ मा जाने तयारीमा थिए । त्यहाँ एमालेले प्रदेश मन्त्री तथा दोस्रो संविधानसभा सदस्य रेवतीरमण भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । कुसियैत आफ्नो क्षेत्र छाड्नुपर्ने स्थितिमा पुगेपछि असन्तुष्ट बनेका थिए ।

अब पार्टी निर्णय फेरिएसँगै सुनसरी–२ बाट रेवतीरमण भण्डारी नै एमालेका उम्मेदवार हुने जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

अन्तिम समयमा टिकट खोसिनु र उम्मेदवारी फेरबदल हुनु एमालेभित्रको आन्तरिक विवाद र शक्ति सन्तुलनको प्रत्यक्ष उदाहरण बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया