एमालेभित्रको विवाद भातृ संगठनबाट पोखिँदै, संस्थापन पक्षविरुद्ध इतर समूहका समान्तर गतिविधि

Jasus Khabar 3925+ समाचार ( )
२ भाद्र २०८२

नेकपा (एमाले)काे दोस्रो विधान महाधिवेशन सम्मुखमा भ्रातृ संगठनहरूमा दुईधारमा विभाजित भएका छन् । २० देखि २२ भदौसम्म काठमाडौंमा हुने विधान महाधिवेशनको तयारी चलिरहँदा पार्टीका भातृ संगठनहरूमा समस्या देखिन थालेको हो ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा देखिएकाे विवाद सल्टिनेभन्दा पनि बल्झिने क्रममा रहेकाे संकेत कर्णाली प्रदेश कमिटीले देखाएकाे छ ।

गण्डकी प्रदेश कमिटीकाे विवाद सल्टिन नपाउँदै ३० साउन २०८२ मा कर्णालीमा समान्तर कमिटी गठन भएको छ । केन्द्रले गरेकाे निर्णय अस्वीकार गर्दै प्रदेशमा कमिटीले अर्को कमिटी गठन गरिएको हो । ‘भर्चुअल बैठकमार्फत केन्द्रकाे निर्णयकाे विराेधमा नयाँ कमिटी गठन गरिएको सञ्जय योगीले बताए । शिलापत्रसँग उनले भने, ‘केन्द्रले सचिवलाई प्रदेशको संयोजक तोकेर पठाएपछि हामी विधानअनुसार नयाँ कमिटी गठन गर्न बाध्य भएका हौँ । हामीले मेरो संयोजकत्वमा नयाँ प्रदेश कमिटी गठन गरेका हौँ ।’

केन्द्रले पठाएको ‘सर्कुलर’ अन्यापूर्ण भएको भन्दै अनेरास्ववियु कर्णाली प्रदेशले ३० साउनमा बैठक बसेर सञ्जय योगीलाई संयोजक तोकेर केन्द्रलाई ध्यानाकार्षण गराएको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु केन्द्रीय सचिवालयको बैठकद्वारा भएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको र केन्द्रीय कमिटीबाट आएको सर्कुलरका आधारमा प्रदेश इन्चार्ज तथा संयोजक तोक्ने सम्बन्धमा गम्भिर छलफल भई हामीले देखेको के हो, भने–प्रदेशको इन्चार्जको महत्वपूर्ण जिम्मेवारी तोक्दा, भौगोलिक क्षेत्रमै अवस्थित रही, प्रत्येक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यलाई यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्नुपर्ने हो तर निर्णय फरक आएकाले यसले विधि–विधानमा प्रदेशगत भिन्नता देखिएको संकेत गर्दछ ।’

कर्णाली प्रदेश कमिटीले केन्द्रको अन्यायपूर्ण निर्णय नमान्ने अवस्थामा पुगेको योगीले बताए । उनले भने, ‘कर्णाली प्रदेश कमिटीका सिनियर नेताहरूमाथि अन्याय र अपमान भएकाले केन्द्रको सर्कुलर नमान्ने अवस्थामा पुगेका हौँ । हामीले यो नेता, त्यो नेता भनेर गुटबन्दी गरेका छैनौँ । उल्टै केन्द्रले गुटबन्दी गरेर आफ्नो चाकडी चाप्लुसी गर्नेलाई पद दिने काम गरेको छ ।’

उपाध्यक्षलाई जिम्मेवारीविहीन बनाएर सचिवलाई संयोजक बनाउनु गलत भएको भन्दै कर्णाली प्रदेश कमिटीले उपाध्यक्ष योगीलाई संयोजक र सचिव धर्म शाहीलाई सह–संयोजक बनाएको छ । तर, केन्द्रीय सचिवालयले शाहीलाई संयोजक तोकेर सर्कुलर पठाएको थियो ।

योगीले आफूसहित केन्द्रीय सचिवालय सदस्य अक्कल सिजापति, प्रतिमा खड्का, विराज भण्डारी, प्रकाशमान सिंह तथा केन्द्रीय कमिटी सदस्यहरू रत्ननाथ योगी र सन्जिता शाह र जिल्ला कमिटी दैलेखका अध्यक्ष झलक खड्का र जिल्ला कमिटी सुर्खेतका अध्यक्ष प्रतीक शाहीलेको उपस्थितिमा नयाँ समिती गठन गरिएको बताए ।

प्रतिक्रिया