जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको थिए । ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए । >
ओसामु सन् १९३० मा जनवरी ३० मा जापानको एक किसान परिवारमा जन्मिएका थिए । उनी उनको परिवारका चौथो सन्तान थिए । सुरुवातमा राजनीति गरेका उनले पछि सुजुकी परिवारमा विवाह गरेपछि गाडी उद्योगमा करियर थालेका थिए । टोक्योस्थित चुओ विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका ओसामुले एउटा विद्यालयमा कनिष्ठ शिक्षक र रात्रि सुरक्षाकर्मीको जागिर पनि खाएका थिए । १९५३ मा उच्च शिक्षा सकेपछि उनले केही समय बैंकमा पनि जागिर गरेका थिए । लगत्तै सुजुकी परिवारमा विवाह गरेपछि उनले सुजुकी परिवारको व्यापार सम्हालेका थिए । काम गर्दै गएपछि सन् १९७८ मा ओसामुले सुजुकी मोटरको नेतृत्व लिएका थिए । त्यसपछि उनले सुजुकीका मिनिकार र मोटरसाइकललाई विश्व बजारमा पुर्याएका थिए । >
सुजुकी मोटरलाई उत्तर अमेरिकाको बजार प्रवेश गराउन ओसामुले अमेरिकाको जनरल मोटर्स र युरोपको बजार छिर्न फक्सवागनसँग रणनीतिक गठबन्धन गरेका थिए । त्यसैगरी भारतमा कम मूल्यका साना गाडी बिक्री गरेर बजार नेतृत्व गराउन पनि ओसामुले महत्त्वपूर्ण योगदान गरेको सुजुकी मोटर कम्पनीले जनाएको छ ।>>