मन्त्री मण्डलका 'खेताला' स्वकीय सचिव : एउटाको नाममा नियुक्ति, तलब अर्कैको खातामा !

Jasus Khabar 3945+ समाचार ( )
१३ जेठ २०८२

बिराटनगर । कोशी प्रदेशका वन पर्यटन तथा वातावरण मन्त्री सदान्नद मण्डलले खेताला स्वकीय सचिव राखेको पाइएको छ । मन्त्री मण्डलले एक जनालाई स्वकीय नियुक्त गरे पनि काम भने अर्कैले गरिरहेका छन् । मन्त्री मण्डलले सन्तोष मेहतालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् तर, काम भने अमृत मेहताले गरिरहेका छन् ।​

आइतवार कोशी प्रदेशसभाको बैठकमा मन्त्री मण्डल सहभागी भएका थिए । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा मन्त्री सहभागी भइरहँदा अमृत भने मन्त्रीको निजी सचिवालयमा थिए । सचिवालयमा कर्मचारीका लागि तीनवटा टेबल र कुर्सी राख्ने गरिएको छ । एउटामा प्रमुख स्वकीय सचिव बस्छन् भने एउटामा अमृत बस्छन् । आइतवार पनि उनी सचिवालयमा बसेका थिए । 

मन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवको मात्रै नेमप्लेट राखिएको छ । प्रमुख स्वकीय सचिवमा सुजित राई छन् । 

नियमअनुसार मन्त्रीले प्रमुख स्वकीय सचिव एकजना, स्वकीय सचिव एकजना र सूचना प्रविधि हेर्नेगरी एकजना कर्मचारी राख्न पाउँछन् ।  यसैगरी हलुका सवारी चालक र अन्य दुई जना कार्यालय सहयोगी नियुक्त गर्न पाउँछन् । आवास र कार्यालय भनेर राख्न पाउँछन् । 

प्रमुख स्वकीय सचिवले अधिकृत स्तरको ४३ हजार ६८९ रुपैयाँ तलब पाउँछन् भने स्वकीय सचिवले नायब सुब्बा सरहको ३४ हजार ७३० रुपैयाँ पाउँछन् ।  सूचना प्रविधि हेर्ने कुन्दन मण्डलले खरिदार सरहको ३२ हजार ९०२ रुपैयाँको तलब बुझ्छन् । 

मन्त्रीको निजी सचिवालयमा अमृत र कुन्दनको नाम प्लेट राखिएको छैन । अमृतले मन्त्रीको स्वकीय सचिव भनेर चिनाउने गरेका छन् । मन्त्री कार्यक्रममा जाँदासमेत उनीसँगै जान्छन् । मन्त्रीलाई भेट्न आउने सेवाग्राहीले सन्तोष सर तपाईं हो भनेर सोध्दा उनले स्पष्ट जवाफ दिँदैनन् । परिचय नदिई तपाईंको काम के थियो भनेर उनले सोध्ने गरेको कर्मचारी स्रोतले बतायो । 

केही कर्मचारीले अमृतलाई नै ‘सन्तोष’ भनेर मोबाइलमा फोन नम्बर सेभ गरेर राखेका छन् ।  लेखा शाखाका कर्मचारीहरूका अनुसार अमृतले नै सन्तोषको दैनिक भ्रमण भत्ता बुझ्ने गरेका छन् । तर, मासिक तलब भने सन्तोषकै बैंक खातामा जम्मा हुने गरेको छ । 

मन्त्री मण्डलले अमृतलाई आफूले सहयोगीकारूपमा राखेको बताए । उनले सन्तोष र अमृत दाजुभाइ भएको पनि खुलासा गरे । ‘सन्तोषले अफिसियल काम गर्छन् र अमृतले मेरो सहयोगीकारूपमा काम गर्छन्,’ मन्त्री मण्डलले भने । 

तर, मन्त्रालयका कर्मचारीले भने सन्तोष भनेर अमृतलाई नै चिनेको बताउँछन् ।  मन्त्रीको स्वकीय सचिव बन्न पाऊँ भनेर दिएको पत्रमा सन्तोषको हस्ताक्षर छ ।  तर, सम्पर्क फोन नम्बर भने अमृतको राखिएको छ । 

यो घटनाले सरकारी नियुक्तिमा पारदर्शितामाथि प्रश्न उठाएको छ । यस्तो अभ्यासले कार्यक्षेत्रमा भ्रम सिर्जना गरेको मन्त्रालयका कर्मचारीहरूले बताए । 
सन्तोष मेहताले आवेदन दिएर नियुक्ति पाएका भए पनि उनी उपस्थित नहुने गरेको कर्मचारी बताउँछन् । 

अमृतले आफ्नो वास्तविक परिचय लुकाउने गरेका छन् । लेखा शाखाका कर्मचारीहरूले भने कागजी कारवाहीमा मात्र ध्यान दिने र व्यक्तिको पहिचान जाँच नगर्ने स्वीकार गरेका छन्  । स्वकीय सचिव हुन सुब्बा सरहको योग्यता चाहिन्छ । त्योभन्दा कम योग्यता भएपछि सन्तोषको नाममा नियुक्त गरिएको हुनसक्ने कर्मचारीहरूको तर्क छ । 

सांसदहरूले एक जना स्वकीय सचिव राख्न पाउँछन् । प्रदेशसभामा पनि मण्डलले सन्तोषलाई नै स्वकीय सचिव नियुक्त गरेका थिए । ‘उँहाले सन्तोष मेहतालाई स्वकीय सचिव नियुक्त गर्नुभएको थियो,’ लेखा अधिकृत जीवन राजभण्डारीले भने, ‘हामीले सन्तोषका नाममा पारिश्रमिक पठाउने गरेका थियौं ।’ 

जसलाई नियुक्त गरिएको छ, उसकै बैंक खातामा पारिश्रमिक पठाउने गरेको उनले बताए । राजनीतिक नियुक्ति भएकाले सांसददेखि मन्त्रीसम्मले खेताला स्वकीय राख्ने गरेको कर्मचारीहरू बताउछन् ।  ‘एसएलसी मात्रै पास गरेका स्वकीय सचिव केही माननीयज्यूले राख्नुभएको हामीले थाहा पाएका छौ,’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले भने, ‘अनि सुब्बासरहको सेवा सुविधा लिन अर्कै व्यक्तिलाई नियुक्ति गर्नुहुन्छ ।’ 

प्रतिक्रिया