अजमल अन्सारी >
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडी इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी अमडुवाबाट खटिएको मोबाइल गस्ती टोलीले अवैध सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ ।
शुक्रबार राति सशस्त्र प्रहरी निरीक्षक विश्वनाथ पोखरेलको कमाण्डमा खटिएको टोलीले अवैध रूपमा ल्याउँदै गरिएको २ लाख ६० हजार मूल्य बराबरका दुई वटा मोटरसाइकल र ७ लाख ८५ हजार ८ सय बराबरको रेडिमेड कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीका गणपती तथा प्रहरी उपरीक्षक एसपी निर्मल थापाले सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि परिचालित हाम्रो टोलीले विशेष निगरानीका क्रममा राति गस्ती गर्दै गर्दा अवैध सामानसहितका मोटरसाइकल फेला पारेको बताउनुभयो । वहाँले बरामद गरिएको सामान भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
वहाँले भन्नुभयो, “सुनसरीको सिमावर्ती क्षेत्रमा रातिको समयमा चोरी पैठारीका गतिविधि बढ्न थालेपछि हामीले गस्तीलाई थप प्रभावकारी बनाएका छौं । स्थानीय तह र भन्सार कार्यालयसँग समन्वय गर्दै अवैध तस्करीमा संलग्न समूह पहिचान तथा नियन्त्रणका लागि विशेष अप्रेसनसमेत सञ्चालन गर्दैछौं । सीमा सुरक्षामा कुनै सम्झौता हुँदैन ।”
सिमावर्ती क्षेत्रमा रातको समयमा अवैध तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी बलले गस्ती सशक्त बनाउँदै आएको जनाएको छ ।
>>