जसपा नेतृ बबीसिंह यादवले हवाई फायर गर्दै नाचेको भिडियो भाइरल, के हो वास्तविकता ?

Jasus Khabar 3925+ समाचार ( )
१८ वैशाख २०८२

जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो यतिबेला सोसल मिडिया भाइरल बनेको छ । विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर भइरहेको छ । भिडियो शेयर गर्ने अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् । 

भाइरल भइरहेको भिडियो हेर्दा एक पारिवारिकजस्तो लाग्ने जमघटमा डा. यादवले नाच्दै हवाई फायर गरेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई शक्तिको दुरुपयोग भनेर प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाइरहेका छन् । 

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ की डा. यादव राष्ट्रियसभा सदस्य, जसपा नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी एक मात्र छोरी तथा बोदेबरसाइन नगरपालिकाका मेयर आतेस सिंहको बहिनी हुन् । राजनीतिक परिवारकी भएकाले उनले शक्तिको धमास दिएको भन्दै सोसल मिडियामा आलोचना भइरहेको छ । ‘सार्वजनिक कार्यक्रममा खुलेआम पेस्तोल लिएर नाचेकी छन् । उनले लिएको पेस्तोल वैध हो कि हैन ? उनलाई पेस्तोल राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ कि छैन ?’, यस्तै प्रश्न धेरैले गरेका छन् । 

के भन्छिन् बबीसिंह ?

यद्यपि, डा. बबीसिंह यादवले भाइरल भइरहेको भिडियो हप्ता दिनअघि भारतमा भएको एक वैवाहिक समारोहको भएको बताएकी छन् । त्यहाँ आफूले वास्तविक नभएर नक्कली पेस्तोल पड्काएर रमाइलो गरेको उनको दाबी छ । 

उनको मामली सर्लाहीका जमिनदार हुन् । ‘गएको ११ वैशाखमा मेरो मामाकी छोरीको विवाह थियो । ज्वाइँ भारत सीतामणिका हुनुहुन्छ । त्यसैले सीतामणिमै वैवाहिक समारोह आयोजना गरिएको थियो । त्यहीँ मामाका छोराहरूले नक्कली गन ल्याएर फायर गर्न भने । मैले रमाइलोका लागि फायर गरेँ’, उनले शिलापत्रसित भनिन्, ‘नक्कली पेस्तोल पड्काएको त हो नि भनेर आफैंले टिकटकमा भिडियो पोस्ट गरेकी थिएँ ।’ 

भिडियो पोस्ट भएको केही घण्टामै भाइरल बन्यो । कतिपयले उनलाई मेसेज गरेर भिडियोबारे जिज्ञासा राख्न थाले । ‘बेकारमा किन विवादमा पर्नु भनेर मैले पछि भिडियो डिलिट गरिदिएँ । तर, अरु पेज र प्रोफाइलबाट भिडियो हालेर भाइरल बनाइएछ’, डा. यादवले भनिन् । 

नक्कली पेस्तोलबारे आफूलाई पनि सुरुमा केही थाहा नभएको उनले बताइन् । ‘विवादमा परेपछि भाइहरूलाई सोधें रेञ्जर टोय खेलौना रहेछ, यसबारे गुगल गरेर पनि बुझेँ’, उनले भनिन् । 

भिडियोलाई लिएर प्रश्न उठाइएपछि प्रहरीले समेत जिज्ञासा राखेको र आफूले प्रस्ट पारेको उनले स्पष्ट पारिन् । 

‘एक वैवाहिक समारोहका बीच रेञ्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनुहुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवम् आग्रह गर्दछु’, फेसबुक पोस्टमार्फत समेत उनले भनेकी छन्, ‘साथै, सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु ।’ 

कस्तो हो रेञ्जर टोय गन ?

जसपा नेतृले फेसबुकमार्फत नै पेस्तोलको प्रस्ट फोटो’ पनि सार्वजनिक गरेकी छन्, जसमा ‘रेञ्जर टोय गन’ लेखिएको छ । यो सत्य हो भने त्यो वास्तविक नभएर बच्चाहरूका लागि बनाइएको खेलौना पेस्तोल हो । साधारणतया बच्चाहरूका लागि बनाइएका प्लास्टिक वा अन्य सुरक्षित सामग्रीबाट निर्मित खेलौनाका बन्दुकहरूलाई रेञ्जर टोय गन भनिन्छ । कतिपय देशमा सक्कलीजस्तै देखिने टोय गनहरूमाथि प्रतिबन्ध वा नियमन गरिएको हुन्छ । 

प्रतिक्रिया