सुनसरीमा ४३८ केजी गाँजासहित स्कार्पियो नियन्त्रणमा, चालक फरार

Jasus Khabar 3925+ समाचार ( )
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले घटनाबारे जानकारी दिँदै फरार चालकको खोजी कार्य तीव्र पारिएको बताए।
१६ जेठ २०८२

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–११ स्थित तनमुना नहरचौक–शुक्रबारे भित्री सडक खण्डमा ठूलो मात्रामा लागू औषध गाँजासहित स्कार्पियो गाडी नियन्त्रणमा लिइएको छ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछिया शुक्रबारेबाट संयुक्त रुपमा खटिएको टोलीले बिहीबार बिहान करिब ३ बजे चेकजाँच गर्ने क्रममा उक्त स्कार्पियो फेला पारेको हो।

भारतिय नम्बर प्लेट WB 06 H 2858 नम्बरको स्कार्पियो गाडी प्रहरी टोलीलाई देख्नासाथ चालक फरार भएको थियो। प्रहरीले उक्त गाडी जाँच गर्दा प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा १४ वटा पोका भित्र ४३८ केजी गाँजा जस्तो देखिने लागू औषध बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले घटनाबारे जानकारी दिँदै फरार चालकको खोजी कार्य तीव्र पारिएको बताए। “बिशेष सूचनाको आधारमा संयुक्त टोली परिचालन गरी स्कार्पियो नियन्त्रणमा लिइएको छ। हाल फरार चालकको खोजी भैरहेको छ,” उनले भने।

बरामद गरिएको गाँजा र स्कार्पियोलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया