हरिनगरका आगलागी पीडितलाई प्रहरी श्रीमती संघको राहत

Jasus Khabar 3925+ समाचार ( )
१८ चैत्र २०८१

अजमल अन्सारी 

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका- ५ बसन्तपुरस्थित बङाली टोल गाउँका आगलागी पीडितलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले राहत सामग्री वितरण गरेको छ । सोमबार विद्युत सर्ट भएर आगलागीबाट घरबार गुमाउने अग्निपीडितलाई मंगलवार घटनास्थलमा नै पुगेर राहतका सामग्री वितरण गरिएको हो । 

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आगलागीपीडित ११ परिवारलाई राहत सामग्री प्रदान गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश कमिटीकी अध्यक्ष सुस्मिता केसीले पीडित परिवारलाई कम्बल, तन्ना, त्रीपाल, चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न सामग्री प्रदान गरे ।

राहत वितरण कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिए । उनले विपद् तथा सुरक्षामा प्रहरीको भूमिकाको प्रशंसा गर्दै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश कमिटीले राहत वितरण गर्नुभएकोमा धन्यवाद व्यक्त गरे । वहाँले आफ्नो पालिकाको आगलागी पीडितहरुको सहयोगको लागि अपिल गरेपछि तत्कालै नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश कमिटीले सहयोग स्वरुप राहत हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आगलागी स्थलको निरीक्षण गर्नुभएको छ । वहाँले आगलागी क्षेत्रको निरीक्षण गर्दै घटनाप्रति दुख व्यक्त गर्नुभयो । वहाँले घटनाको बारेमा जानकारी प्राप्त भएलगत्तै आफुले तत्कालै राहत सहयोग गरेको बताउनु हुँदै थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राहत वितरणमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिना, सशस्त्र प्रहरी बल बसन्तपुरका सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ थापा, इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया