उदयपुरको विकट पहाडी ताप्ली गाउँपालिकामा आयोजित भलिबल प्रतियोगितामा सहभागी हुन विभिन्न नौ वटा स्थानीय तहका खेलाडीको जमघट भएको छ। गाउँ युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको ‘अन्तरपालिका स्तरीय अध्यक्ष कप महिला–पुरुष भलिबल प्रतियोगिता ०८२’ मा झापा, मोरङ, भोजुर, ओखलढुङ्गा र उदयपुरका गाउँ/नगरका खेलाडी भेला भएका हुन्।>
प्रतियोगिताको उपाधि भने घरेलु टिम ताप्ली ‘ए’ ले आफैँसँग सुरक्षित गरेको छ। भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै आयोजक ताप्ली युवा क्लबले १ लाख ११ हलार १ सय ११ रुपैयाँ नगदसहितको उपाधि सुरक्षित गरेको हो। शुक्रबार उद्घाटन गरी आइतबार सम्पन्न फाइनलमा आमचोकलाई सोझो सेटमा पराजित गर्दै ताप्लीले उपाधि चुमेको हो।>
महिलातर्फको स्पर्धामा भने भोजपुरको आमचोक टिम प्रथम भएको छ। आमचोक ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको महिला टिमलाई पराजित गर्दै विजेता बनेको हो। महिलातर्फ विजेता बनेसँगै भोजपुरले दुईवटा पुरसकार हात पारेको छ।>
विजेता खेलाडी समूहलाई आइतबारै सम्पन्न समापन समारोहमा गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्मा र उपाध्यक्ष धनामाया मगरले ट्रफी, नगद तथा प्रमाणपत्र प्रदान गरे। पुरुषतर्फ विजयी ताप्लीले १ लाख नगद र ट्रफी पाएको छ भने उपविजेता आमचोकलाई ५५ हजार ५ सय ५५ रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्रदान गरियो।>
त्यस्तै महिलातर्फको विजेता आमचोक र उपविजेता मानेभन्ज्याङलाई पनि सोही परिमाणको क्रमशः १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ५५ हजार ५ सय ५५ नगद तथा ट्रफी प्रदान गरियो। सेमिफाईनलसम्म पुग्ने दुई समूहहरू पुरुषतर्फ दमक नगरपालिका र ताप्ली समूहलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको छ।>
पुरस्कार वितरण गर्दै अध्यक्ष विश्वकर्माले गाउँपालिकाका युवायुवतीलाई खेलकुदको माध्यमबाट स्वस्थ्य, गतिशील र समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले बर्सेनि गाउँपालिकाले यस्ता प्रतियोगिताहरू गर्दै आएको बताए। खेलकुदले स्वस्थ शरीर र स्वच्छ भावनाको विकास गर्नुका साथै राष्ट्र र समाजप्रति जिम्मेवार बनाउन मद्दत गर्ने भएकाले वडावडामा खेल गतिविधि गर्दै आएको उनले बताए।>
ताप्ली ३ इनामेस्थित नमूना माध्यमिक विद्यालय झिल्केपोखरीको खेलमैदानमा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ताप्लीका ‘ए’ र ‘बी’ सहित ८ टिम र महिलातर्फ ३ खेडाली समूहको सहभागिता थियो। प्रतियोगितामा भोजपुरको आमचोक, खोटाङको हलेसी तुवाचुङ नगर, झापाको दमक नगर, ओखलढुङ्गाको मानेभन्ज्याङ, मोरङको बेलबारी नगर तथा उदयपुरका त्रियुगा नगर र लिमचुङबुङ गाउँपालिकाको सहभागिता रहेको थियो।>
>>