देशभरको तापक्रम पुनः घट्न थालेको छ । यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम घट्न थालेको थियोे । बीचमा केही दिन तापक्रम थोरै बढेको थियो ।>
शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा बिहीबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो । बुधबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.० डिग्री सेल्सियस छ ।
बिहीबार जुम्लाको न्यूनतम तापक्रम –५.८ डिग्री सेल्सियस थियो । बुधबार जुम्लाको न्यूनतम तापक्रम –५.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । शुक्रबार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ४.५, ताप्लेजुङको ४.७, डडेलधुराको ५.१, दिपायलको ६.२, ओखलढुंगाको ६.६, धनकुटाको ७.०, घोराहीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।>>