मन्त्री मण्डल ' नकली स्वकीय सचिव' प्रहसन : नियुक्त सन्तोष को हुन् ? अमृतले मन्त्रीको गाडी समेत चलाएको भिडियो सार्वजनिक

Jasus Khabar 3925+ समाचार ( )
२५ जेठ २०८२

इनरुवा । कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयमा स्वकीय सचिवको नाममा देखिएको नियोजनहीनता र अपारदर्शिताले राजनीतिक पहुँच र सरकारी संयन्त्रको दुरुपयोगको नयाँ नमुना उजागर गरेको छ। मन्त्री सदानन्द मण्डलले नियुक्त गरेका स्वकीय सचिव सन्तोष मेहता नाम मात्रका देखिए पनि, सम्पूर्ण काम अमृत मेहताले गरिरहेको खुलासा भएको छ।


सार्वजनिक दस्तावेज अनुसार, नियुक्तिपत्र सन्तोष मेहताको नाममा जारी गरिएको छ। तर मन्त्रालयका दैनिक कामकाजमा अमृत मेहताको सक्रियता देखिन्छ। मन्त्रालय स्रोतका अनुसार सम्पर्क नम्बरदेखि लिएर भ्रमण भत्ता र सरकारी सुविधा समेत अमृतले नै भोग गर्दै आएका छन्।


मुख्य तथ्यहरू:


*नियुक्तिपत्र सन्तोष मेहताको नाममा, तर सम्पर्क नम्बर र उपस्थित कर्मचारी अमृत मेहता।

*मन्त्रीका कार्यक्रममा अमृत सहभागी, कर्मचारीहरू उनलाई सन्तोष भनेर चिन्दछन्।

*दैनिक भत्ता तथा मोटरसाइकल सुविधा अमृतले प्रयोग गर्ने गरेको पुष्टि।

*मन्त्री मण्डलले अमृत र सन्तोष दाजुभाइ भएको र अमृत 'सहयोगी' मात्र भएको दाबी गरे पनि उनी कार्यालयको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।

*अमृत मेहताले मन्त्रीकै गाडी चलाइरहेको भिडियो TikTok मा राखेपछि थप सनसनी फैलिएको छ।

*सन्तोष मेहता नक्ली स्वकीय आफन्त को दाजु, भाइको नाता रहेको समाचार स्रोतको दाबी।

मन्त्रालयका कर्मचारीहरू यो अवस्थाले "स्वकीय सचिवको नाममा खेताला नियुक्ति" को संकेत दिएको बताएका छन्। सरकारले तोकेको मापदण्ड अनुसार स्वकीय सचिवका लागि कम्तीमा "सुब्बा सरह"को योग्यता हुनुपर्ने हो, तर अमृतको शैक्षिक योग्यता मात्र SLC रहेको आशंका व्यक्त गरिएको छ।


यसबारे प्रतिक्रिया लिन खोज्दा मन्त्री मण्डलले “सामान्य कुरा हो, अमृतसँग कुरा गर्नुहोस्” भनेर पन्छिएका छन्। यता, विवाद सतहमा आएपछि अमृत कार्यालय आउन छाडेको मन्त्रालय स्रोतको दाबी छ।


राजनीतिक संरक्षणमा कर्मचारी प्रशासनको नियम मिच्दै स्वकीय सचिवको नाममा गरिएको 'खेताला प्रथा' विरुद्ध अहिले सामाजिक तथा प्रशासनिक वृत्तमा चर्को आलोचना भइरहेको छ। सरोकारवाला निकायहरूबाट छानबिन र कारबाहीको माग चुलिँदो छ।

प्रतिक्रिया