उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

Jasus Khabar 1+ समाचार ( )
३० फाल्गुन २०७९

निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ।

मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।

उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार