इरान-इजरायल टकरावमा ह्वाट्सएपले दियो प्रस्टीकरण, के हो विवाद ?

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

इरान र इजरायलबीचको टकराव बढ्दै जाँदा इरानले ह्वाट्सएपमाथि गम्भीर प्रश्न उठाएको छ । जसबारे ह्वाट्सएपले आफ्नो प्रस्टीकरण दिएको छ ।

इरानले ह्वाट्सएपले इरानी प्रयोगकर्ताको 'लोकेसन ट्र्याक' गरेको आरोप लगाएको थियो । सोहीकारण उसले ह्वाट्सएपजस्ता एपहरू बन्द गर्न र नचलाउन आग्रह गरेको थियो ।

इरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले मंगलबार एक रिपोर्टमा भनेको थियो- इजरायलले यस्ता एपहरूको प्रयोग मानिसहरूको पहिचान गर्न र उनीहरूलाई निशाना बनाउन प्रयोग गरिरहेको छ ।

यसको अर्थ ती एपहरूले इरानी प्रयोगकर्ताहरूको लोकेसन ट्र्याक गरेर इजरायललाई उपलब्ध गराउने आरोप इरानले लगाएको हो ।

यसको जवाफमा ह्वाट्सएपले यसलाई आफूमाथि लगाइएको झुटो आरोप भनेको छ । यस्ता झुटो आरोप लगाएर एप बन्द गर्ने बहाना बनाउन खोजिएको भन्दै ह्वाट्सएपले चिन्ता जनाएको छ ।

ह्वाट्सएपले आफूहरूले प्रयोगकर्ताको सटिक लोकेसन ट्र्याक नगर्ने दावी पनि गरेको छ ।

'यी झुटा रिपोर्टहरू हाम्रो सेवाहरू अवरुद्ध गर्ने बहाना बन्नेछन् भन्ने चिन्ता छ, जब मानिसहरूलाई तिनीहरूको सबैभन्दा बढी आवश्यकता छ,' मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले भनेको छ, 'हामी तपाईंको सटिक स्थान ट्र्याक गर्दैनौँ, हामी कसले कसलाई सन्देश पठाउँदै छ भन्ने लग राख्दैनौँ र हामी मानिसहरूले एक-अर्कालाई पठाउने व्यक्तिगत सन्देशहरू ट्र्याक गर्दैनौँ ।'

यसका साथै आफूले कुनै पनि सरकारलाई ठूलो रूपमा जानकारी प्रदान नगर्ने दावी ह्वाट्सएपले गरेको छ ।

प्रतिक्रिया