हज यात्रामा सुनसरीबाट १ सय ८० जना जाने

Jasus Khabar 3925+ समाचार ( )
१ जेठ २०८२

अजमल अन्सारी

सुनसरी। ईस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरी जिल्लाबाट १ सय ८० जना श्रद्धालु साउदी अरेबिया प्रस्थान गर्ने भएका छन्। हज समितिको समन्वयमा आवश्यक तयारी पुरा भई यात्रुहरू अगामी जेष्ठ ३ गते शनिबारदेखी पवित्र भूमि मक्का मदिनातर्फ प्रस्थान गर्नेछन्।


सुनसरीका हाज यात्रीहरु विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्नेछन् । अगामी जेष्ठ ३ गते शनिबार पहिलो चरणमा ५५ जना हज यात्री, एकजना एम्बेस्सीका प्रतिनिधि, २ जना हजसमितिका सदस्य प्रतिनिधि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् ।


यसैगरी जेष्ठ ४ गते आइतबार बिहान १ सय १८ जना हज यात्री, एकजना एम्बेस्सीका प्रतिनिधि र एकजना हजसमितिका सदस्य प्रतिनिधि काठमाडौंबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । यस्तै, सोही दिन राती सुनसरीका थप ४ जना अन्यजिल्लाका हज यात्रीको टोलिमा सहभागी भएर प्रस्थान गर्नेछन् । त्यस्तै, जेष्ठ ५ गते राती सुनसरीका थप ५ जना र जेष्ठ ७ गते बुधबार बिहान थप २ हजको लागि साउदी अरेबिया प्रस्थान गर्ने कार्यतालिका छन् ।


गत वर्ष आवेदन दिएर पनि जान नपाएका र नयाँ आवेदक छनौटमा परेर सुनसरी जिल्लाबाट हज गर्न जानका लागि १ सय ८० जना छनौटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुने गर्छन्। गत वर्ष पहिलो जिल्ला बनेको सुनसरी यद्यपि यस वर्ष दोस्रो स्थानमा रहेका छन् ।


देशभरबाट दुई हजार बढी आवेदन परेको थियो। देशभरबाट यस १ हजार १ सय ७१ जना हज गर्न जानेछन् । देशैभरका हजयात्री ११ चरणमा मई १७ देखि २२ मई तारिखसम्म मक्काका लागि प्रस्थान गर्नेछन्। हजयात्री काठमाडौबाट सिधै साउदीको जेद्दा पुग्नेछ। उनीहरु जुन २० देखी २५ जुन तारिखसम्ममा स्वदेश फर्किनेछन् । प्रति हज यात्रीले ३ लाख ७० हजार रकम तिरेका हुन्।


हज इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये एक महत्वपूर्ण स्तम्भ हो। आर्थिक, शारीरिक तथा मानसिक रूपमा सक्षम प्रत्येक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक हज यात्रा गर्नु धार्मिक कर्तव्य मानिन्छ। हजमा सहभागिता जनाउन विश्वभरिबाट लाखौं श्रद्धालु प्रत्येक वर्ष साउदी अरेबियाको मक्का पुग्ने गर्दछन्।


यस यात्रामा श्रद्धालुहरूले मिना, अराफात, मुजदलिफा, जमरात लगायतका पवित्र स्थलको यात्रा गर्दै विभिन्न धार्मिक विधि सम्पन्न गर्नेछन्। हजको क्रममा पैगम्बर हजरत इब्राहिम (अलैहिस्सलाम) र उनका पुत्र हजरत इस्माइल (अलैहिस्सलाम) को बलिदानी, आस्था र समर्पणको स्मरण गरिन्छ। यस अवसरमा मुसलमानहरू बीच समानता, भाइचारा र धार्मिक एकताको गहिरो सन्देश प्रवाह हुने विश्वास गरिन्छ।


यात्रुहरूको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समिति सुनसरीले जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै साउदी सरकार तथा नेपाल सरकारबीच समन्वयमा विशेष व्यवस्थापन गरिएकाे जनाएको छ।


सुनसरी हज समितिका संयोजक मोजम्मील मिया अन्सारीले हज यात्रुहरूको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्वपूर्ण हुने बताएका छन्। बिदाई समारोहका साथ श्रद्धालुहरूलाई धार्मिक कर्तव्य पुरा गर्न ससम्मान पवित्र भूमि पठाइने तयारी समेत गरिएको छ।


हज इस्लामिक पात्रो अनुसार धु अल हिज्जा महिनामा सम्पन्न हुने गर्दछ। यो अवसरले विश्वभरका मुस्लिम धर्मावलम्बीलाई एउटै सूत्रमा बाँध्ने अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया